भारत र बंगलादेशको विवाद आइसीसी टी–२० विश्वकपसम्मै पुग्यो

बिहिबार, ८ माघ २०८२

काठमाडौं—भारत र बंगलादेशको विवाद आइसीसी टी–२० विश्वकपसम्मै पुगेको छ ।

कोलकाता नाइट राइडर्स (केकेआर)ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि दुई देशबिचको विवाद चर्किएको छ ।

उनलाई हटाएको विरोधमा बंगालदेशले भारतमा गएर विश्वकप नखेल्ने निर्णय गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले विश्वकपका सबै खेल श्रीलंकामा खेल्ने अडानसहित भारत नजाने निर्णय गरेको हो ।

ढाकामा बिहीबार भएको बंगलादेशका क्रिकेटर र सरकारका खेलकुद सल्लाहकारबीचको बैठकपछि बिसिबीले आफ्नो अडान परिवर्तन नभएको जनाएको छ ।

‘हामी श्रीलंकामा खेल्ने हाम्रो योजना लिएर आइसीसीमा फर्कनेछौँ । उनीहरूले हामीलाई २४ घण्टाको अल्टिमेटम दिएका थिए । तर विश्वव्यापी निकायले वास्तवमा त्यसो गर्न सक्दैन । आइसीसीले विश्वकप हेर्ने २० करोड मानिसहरूलाई गुमाउनेछ ।

यो उनीहरूको घाटा हुनेछ,’ बिसिबीका अध्यक्ष अमिनुल इस्लामले भने ।

आइसीसीले आफूहरूलाई श्रीलंकामा खेल्ने अवसर दिनेमा आशावादी रहेको इस्लामले बताए । बंगलादेश सरकारले विश्वकप खेल्ने भारत नजाने निर्णय गरिसकेको उनको भनाइ छ ।

आईसीसीले बुधबार बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा खेल्ने आफ्नो अडानमा फर्कन थप एक दिन दिएको थियो । उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिने निर्णय आईसीसीले गरिसकेको छ ।

भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो । बीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण स्पष्ट गरिएको छैन, तर दुई देशबीचको सम्बन्ध हालै तनावपूर्ण बनेको छ