जनार्दन शर्माले प्रचण्डलाई हराउन २८ बर्षिय जेनजीलाई फिल्डमा उतारे

बिहिबार, ८ माघ २०८२

काठमाडौं—जनार्दन शर्माले प्रचण्डलाई हराउन २८ बर्षिय जेनजीलाई फिल्डमा उतारेका छन् ।

आफ्नो छिमेकी जिल्लामा चुनाव लड्न आएका प्रचण्डलाई हराउन जनार्दनले विद्यार्थी नेता सन्दीप पुनलाई खटाएका हुन् ।

बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीपले उम्मेदवारी दर्ता गरी प्रचण्डविरुद्ध मैदानमा उत्रिएका छन् ।

सन्दीपले प्रचण्ड जानी जानी रूकुम पूर्वमा भिड्न आएको बताउँदै उनको हार निश्चित भएको ठोकुवा गरेका छन् ।

चुनवाङका २८ वर्षीय सन्दीप पुनका अनुसार पार्टी विभाजन हुनुभन्दा पहिलै दसैंअघि नै रूकुम पूर्वबाट चुनाव लड्ने निधो गरिसकेका थिए।

सन्दीपका अनुसार प्रचण्ड जानी जानी रूकुम पूर्वमा भिड्न आएका हुन्।

‘उहाँको पार्टीबाट रूकुम पूर्वबाट नौ जनाको नाम सिफारिस भएको थियो तर प्रचण्डको नाम सिफारिस नै भएको थिएन। बरू कालिकोट र सिन्धुलीबाट उहाँको नाम एकल रूपमा सिफारिस भएको थियो,’ सन्दीपले भने।

सन्दीपका अनुसार ३१ वडा र तीन गाउँपालिका रहेको रूकुम पूर्वमा जम्मा ३४ हजार ५ सय ७४ जति मतदाता छन्।

आफू उम्मेदवार बनेपछि समस्त रूकुमेली युवा, सहिद परिवार खुसी रहेको सन्दीपले बताए।

सन्दीपका अनुसार प्रचण्डलाई टुरिष्ट नेताको संज्ञा दिँदै स्थानीयले भोट नदिने दाबी गरे।

‘उम्मेदवारी दर्तापछि उहाँ काठमाडौं फर्किसक्नुभएको छ,’ उनले भने, ‘जितेपछि पनि उहाँले त्यही गर्ने हो। मैले यही कुरा घर दैलोमा मतदातालाई सम्झाउन खोजी रहेको छु।’

बायो टेक्नोलोजीमा बिए उत्तीर्ण उनले भूमेमै विगत ३ वर्ष अघिदेखि व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्दै आएका छन्।

२०५१ फागुन १ गतेदेखि प्रचण्डकै नेतृत्वमा नेपालमा नेकपा (माओवादी) को १० वर्षे ‘सशस्त्र जनयुद्ध’ भएको थियो। ‘सर्वहारा वर्गको मुक्ति’ का नाममा त्यो युद्ध चलाइएको थियो।

प्रचण्ड सर्वोच्च कमाण्डर रहेको त्यो ‘युद्ध’ कै दौरान सन्दीपका बुवाआमा पनि लामबद्ध थिए।

सन्दीपका बुवा सूर्यप्रकाश पुन र परम्परा गौतमका बीचमा पार्टीका नेताहरूले नै २०५३ जेठ २५ मा ‘जनवादी विवाह’ गराइदिएका थिए। सन्दीप १३ महिनाको भइसकेपछि परम्पराले माइतीको जिम्मामा छोडेर प्रचण्डले हाँकेको ‘युद्ध’ मै होमिएकी थिइन्।

तर, दुर्भाग्य सन्दीप ३ वर्षको छँदा २०५९ जेठ १४ मा बझाङमा उनका आमाबुवाको हत्या भयो। त्यसपछि मामाघरकाले सन्दीपलाई भारतमा लगेर पढाए। केही समय त्यहाँ बसेर उनलाई फेरि नेपाल ल्याइयो। कहिले कपिलवस्तु, कहिले दाङ, कहिले नेपालगन्ज हुँदै विभिन्न ठाउँबाट अध्ययन गर्दै गए।

नेपालगञ्जबाटै आफूले कक्षा ३ देखि एलएलसीसम्मको पढाइ पूरा गरेको उनले बताए।

त्यसपछि आफू उच्च शिक्षाको लागि काठमाडौं पुगेको र ह्वाइटहाउस कलेजबाट बायोटेक्नोलोजीबाट बिए उत्तीर्ण गरेको उनले बताए।

सन्दीपका अनुसार उनको राजनीतिक जीवन पनि त्यहीबाट सुरू भएको हो।

‘आस्था त पहिलेदेखि नै थियो,’ उनले भने, ‘म विद्यार्थी संगठनमा औपचारिक रूपमा लागेको भने त्यहीबाट हो।’

कलेजमा इकाइ समितिबाट विद्यार्थी राजनीतिमा लागेका सन्दीप २०७४ सालमा इकाइ समितिको अध्यक्ष बनिसकेका थिए।

उनी पूर्वाञ्चल विश्वविद्यालयको राष्ट्रिय समितिको सचिव हुँदै गत वर्ष फागुनमा भएको नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बनेका थिए।

गत कात्तिकमा मात्रै विभिन्न पार्टीसँग अध्यक्ष प्रचण्डले पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै सहमहामन्त्री जनार्दन शर्मा (प्रभाकर) माओवादी केन्द्र छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका थिए। यतिखेर प्रचण्ड सामु फागुन २१ को निर्वाचनका लागि भिड्न उभिएकामध्ये सन्दीप पुन पनि जनार्दनकै पार्टी रोजेका थिए।

सन्दीप प्रलोपाको केन्द्रीय सदस्य र उक्त पार्टीको विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष पनि हुन्।