टीकापुर सितोरियो कराँते एकेडेमीले जित्यो अन्तर्राष्ट्रिय पदक

शनिबार, १० माघ २०८२

टीकापुर – कैलालीको टीकापुरमा मार्सल आर्ट्सको क्षेत्रमा उदाउँदो नाम हो टीकापुर सितोरियो कराँते एकेडेमी । यो एकेडेमीले पुनः एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ।

भुटानको थिम्पुमा सम्पन्न ८औँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप २०२४ मा यस एकेडेमीकी प्रतिभाशाली खेलाडी सोहिता थापाले कास्य पदक जितेसँगै एकेडेमीको चर्चा चुलिएको हो। ‘विकास, अनुशासन र गतिशिलता’ भन्ने मूल नाराका साथ २०७८ सालमा स्थापना भएको यस एकेडेमीले छोटो समयमै खेलाडी उत्पादनमा फड्को मारेको छ।

दक्षिण एसियाली देशहरूबीचको कडा प्रतिस्पर्धामा सोहिताले ५४ केजी क्याडेट कुमिते विधामा पदक जित्नु एकेडेमीको उत्कृष्ट प्रशिक्षणकै नतिजा भएको स्थानीय खेल प्रेमीहरू बताउँछन्। टीकापुर–१ मा अवस्थित यो एकेडेमीले स्थानीय स्तरमा रहेका प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि तयार पार्दै आएको छ।

एकेडेमीको बोर्डमा उल्लेख भए अनुसार, यहाँ बिहान र बेलुका दुवै सिफ्टमा व्यावसायिक प्रशिक्षण दिइन्छ। सोहिताको यो जितले एकेडेमीमा आवद्ध अन्य सयौँ प्रशिक्षार्थीहरूलाई समेत थप उर्जा र प्रेरणा प्रदान गरेको छ।

टीकापुर सितोरियो कराँते एकेडेमीले आफ्ना खेलाडीहरूलाई प्राविधिक सीप मात्र नभई अनुशासन र खेल भावना पनि सिकाउँदै आएको छ। एकेडेमीले आगामी दिनहरूमा अझ धेरै सोहिता जस्ता प्रतिभावान खेलाडीहरू उत्पादन गर्ने र टीकापुरलाई कराँतेको ‘हब’ बनाउने लक्ष्य राखेको छ।