माओवादी नेताहरूले गरे ज्वारको शालिकमा माल्यार्पण, जीवन संगिनी भावविह्वल

मंगलबार, १३ माघ २०८२

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रोल्पाका प्रतिनिधि सभाका उम्मेदवारसहितका नेताहरुले तत्कालीन जनमुक्ति सेनाका बिर्गेड भिसी सहिद ज्वारको शालिकमा माल्यार्पण  गरेका छन ।

सोमबार साझ नेकपा माओवादीका केन्द्रिय नेताहरू तत्कालीन जनमुक्ति सेनाको ज्वार स्मृति बिर्गेड ब्यारेक तिला पुगेर सहिद ज्वारको शालिकमा माल्यार्पण  गर्दै शहिदको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिनिधिसभाका उम्मेदवार चुडामणि वली आदर्शले ज्वारको शालिकमा मल्यार्पण गर्दै शहिदको सपना पूरा गर्न आफू र पार्टी निरन्तर संघर्ष गर्दै आएको बताए । उनले भने, सहिद ज्वार मेरो पनि कमाण्डर हो, उहाँलाई हामी सधै सम्झिरहनेछौ, उहाँले देखाएको बाटोमा अघि बढीहरने छौ । सहिद ज्वारसंग लामो समय काम गरेको बताउँदै आदर्शले उहाँ जनयुद्धको एक कुशल शाहासिक कमाण्डर भएको बताए ।

यस्तै पार्टीका पोलिटब्युरो सदस्य अमर झाक्री संजीवले शहिदहरुको सपना मर्न नदिन आफुहरु निरन्तर क्रान्तिमै रहेको बताए । सहिद, घाइते र बेपता परिवारका सपना पूरा गर्न माओवादी पार्टी निरन्तर क्रान्तीकै दौरानमा भएको बताए ।

उनले भने, हामी सधै शहिदलाई सम्झिरहन्छौ, देखाएको बाटोमा सधै लाग्ने छौ। उनले जनयुद्धमा शहिदले बगाएको रगत र पसिनालाई खेर जान नदिने प्रतिबद्धता जनाए ।

ज्वारको जीवन संगीनी भावुक

यस्तै सहिद ज्वारको जीवन संगिनी सम्झना घर्ती असिना आफ्नो जीवन साथीको शालिकमा माल्यार्पण गर्दा भावुक बनिन, बिगतलाई सम्झदा उनका आँसु थामिएनन, उनी आफ्नो जीवन साथिको शालिकतिर पटकपटक हेर्दै भावविह्वल भैरहिन ।

एकछिनसम्म बोल्न नसकेकी उनले जीवन साथिको शालिकतिर हेर्दै आफ्नो एकमात्र छोरीलाई सम्झदै भनिन,उहाँको ओठजस्तै छ छोरीको पनि, उहाँसग भौतिक रुपमा विछोड भएको पनि बीस बर्ष पुगिसक्यो, उहाँका यादहरु सधै मन मस्तिष्कमा आइरहन्छन ।

उनले शहिदहरुले देखेका सपना पूरा गर्न निरन्तर लागिरहेकाले उहाँहरुले जनयुद्धकोबेला देखेका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाईन ।

स्मरण रहोस असिनाले अहिले रुकुम घर भएका पत्रकार गोबिन्द खड्कासंग बिहे गरेकी छ्न । उनले जीवन साथी गोबिन्दकै सल्लाहअनुसार थबाङमा ज्वार स्मृति छात्रवृत्ति अक्षयकोषको स्थापना गरेको बताईन ।

उनले भनिन, हामीले परिवारमा नै सल्लाह गरेर छात्रवृत्ति कोषको स्थापना गर्यौ, त्यसमा म जीवन साथी गोविन्द खड्का र छोरी विजयज्योति पुनले संयुक्त रुपमा एक लाख जम्मा गरेका छौ, त्यसबाट आएको ब्याजबाट बहु आयामिक क्षमता भएका विद्यार्थिलाई छात्रवृत्ति दिने गरेका छौ ।

तत्कालीन जनमुक्ति सेनाका बिर्गेड भिसी दिल कुमार पुन ज्वारूको घर रोल्पाको थबाङ हो । उनी अर्घाखाँचीको खनदहमा तत्कालीन शाही नेपाली सेनासंगको भिडन्तमा सहिद भएका थिए ।

शान्तीप्रक्रियापछि जनमुक्ति सेनाको ज्वार स्मृति बिर्गेड रोल्पाको त्रिवेणी गाउँपालिका ७ तिलामा व्यारेक बसेको थियो । पछि सोही ठाउँमा शहिद ज्वारको शालिक निर्माण गरिएको जीवन संगिनी सम्झनाले जानकारी दिईन ।

अहिले ज्वार स्मृति बिर्गेड ब्यारेकमा ससस्त्र प्रहरी बलको एक टुकडी ज्वारको शालिक भएको स्थानमा बस्दै आएको छ ।

नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ रोल्पाका उम्मेदवार चुडामणि वली (आदर्श), पोलिटब्युरो सदस्य अमर झाक्री (संजिव), रोल्पा जिल्ला इन्चार्ज, समानुपातिक उम्मेदवार तथा सहिद ज्वारको जिवनसंगिनी सम्झना घर्ती (असिना) पार्टीको केन्द्रिय सल्लाहकार तथा समानुपातिक उम्मेदवार सन्तोषी विक (सन्ध्या) र युवा संगठन नेपालका केन्द्रिय संयोजक धन बहादुर थापा विश्लेषणसहितका नेताहरु तत्कालीन जनमुक्ति सेनाको ज्वार स्मृति बिर्गेडको ब्यारेक तिला पुगेका थिए ।