बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

बुधबार, १४ माघ २०८२

काठमाडौं— बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्याप्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ ।

घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवीमण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानकाक्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवीमण्डललाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीकाअनुसार आज बिहानकरिब ३ बजेको समयमा अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी सुतिरहेको परिवारमाथि धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणमा आमा सुमिन्त्रा र छोरा रामेश्वरको घटनास्थलमै मृत्यु भएको हो।

उक्त आक्रमणमा ५२ वर्षीय जगरुपमण्डल (बुवा) र २२ वर्षीया रिना कुमारी मण्डलगम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हत्या कसले र के उद्देश्यले गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्लाप्रहरी कार्यालय बाराले जनाएको छ ।