प्रचण्डको निर्वाचन क्षेत्रका जनतालाई अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध
काठमाडौं—प्रचण्डको निर्वाचन क्षेत्रका जनतालाई अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
रुकुमपूर्वको प्रशासनले मंगलबार रातिदेखि जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको जनाउँदै विपद्को जोखिम हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउन अनुरोध गरेको हो ।
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सोही कारणले सयौँ यात्रु अलपत्र परेका छन् भने कतिपय हिउँमा फसेका छन् ।
यातायात व्यवासायीलाई पनि मौसम पूर्वानुमान गरेर मात्र यातायातका साधन सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले बताए ।
हिउँ खेल्न आउने तथा हिमाल आरोहण र पदयात्रा गर्ने पर्यटकलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उनले उल्लेख गरे ।
यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले रुकुमपूर्व र बागलुङ सिमाना पातिहाल्ना क्षेत्रमा सडक तीन फिट ढाकेको छ । काठमाडौँबाट रुकुमपूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिउँमा फसेका छन् ।