कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा

बिहिबार, १५ माघ २०८२

काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममाकांग्रेसको भूमिका रहेको दाबी गरे ।

शर्माले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीर रुपमा नागरिकको कुरा सुन्नुछ ।

रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्यसमापनि नेपालीकांग्रेस जोडिएको छ,’उनले भने ।

उनकाअनुसार गाउँगाउँमा खानेपानीको पहुँच बढेको छ । ‘पानीको समस्या अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, पानीको दुःखअझै बाँकी छन् तर केही प्रगती पहिला भन्दा भएका छन्,’उनले बताए।

उपसभापति शर्माले विद्युत् र सञ्चार क्षेत्रका सुधारको पनि चर्चा गरे ।‘नेपालीकांग्रेस सरकारमा हुँदा वा बाहिर हुँदा पनि कांग्रेसको नीतिगत आधारमै मुलुकमा विकासका कामहरू भएका छन्,’उनले भने।

यद्यपि उनले कांग्रेसबाट पनि कमजोरी भएका स्वीकार गरे ।‘हामीले गर्न नसकेका धेरै काम छन्, केही कमजोरी हामीबाट भए, जसका कारण नागरिक, मतदाता र युवा पुस्ता हामीसँग रुष्ट भए,’शर्माले भने ।

उनले पटकपटक सरकार मात्र परिवर्तन भएकाले परिवर्तन भएको अनुभूति नागरिकलाई हुन नसकेको बताए ।

उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनेपछि परिवर्तन भएको अनुभूति प्रधानमन्त्रीलाई मात्र हुनसक्छ, तर नागरिकलाई त्यो अनुभूति हुन सकेन।’