सभापति देउवाले तोके काँग्रेसको १४ औं महाधिवेशनको मिति, सिटौला रिसले आगो ?

शनिबार, २८ असार २०७६

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति तोकेका छन । मिति तोकेर उनले आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारी गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन २०७७ सालको फागुनसम्ममा गर्नेगरी उनले एक वर्षको कार्यकाल बढाउन खोजेका हुन् । देउवा निवास बुढानिलकण्ठमा शनिवार विहान बसेको देउवा समूहको बैठकले ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निश्कर्ष निकालेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले ०७६ फागुन भित्रै नियमित महाधिवेशनको लागि दबाव बढाइरहेका बेला देउवा समूहले भने ७७ सालको फागुन सम्ममा महाधिवेशन गर्ने निश्कर्ष निकालेको हो ।

पार्टीको विधानले असाधरणस्थिति भएमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था गरेको छ ।

संविधानको राजनीतिक दलसम्वन्धी व्यवस्थाले थप ६ महिनाको समय समेत बढाउन सक्ने व्यवस्था गरेको छ ।

चालु केन्द्रीय कार्यसमितिको बैठकमै महाधिवेशनको क्यालेन्डर ल्याउन पौडेल र सिटौला पक्षले दबाब दिएका छन् । देउवा यसै केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको एजेण्डामा छलफल गर्न चाहेका थिएनन ।

तर, पौडेल पक्षले महाधिवेशनको क्यालेन्डरका विषयमा छलफल नहुने हो भने बैठकमै अनुपस्थित रहने चेतावनी दिएका थिए । त्यसपछि मात्रै देउवा महाधिवेशनको क्यालेन्डर ल्याउने पक्षमा जुटेका हुन् ।