चुनाव विथोल्छु भन्ने दुर्गा प्रसाईंविरुद्ध सरकार एक्सनमा
काठमाडौं—चुनाव विथोल्छु भन्ने दुर्गा प्रसाईंविरुद्ध सरकार एक्सनमा उत्रिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईं लक्षित टिप्पणी गर्दै शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन् ।
उनले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै सेना परिचालन गर्ने निर्णय गरिसकेकाले चिन्ता नगर्न अनुरोध गरेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत आयोगका पदाधिकारीसँग बिहीबार निर्वाचन आयोगमा निर्वाचनको शान्तिसुरक्षा र निर्वाचनको समग्र व्यवस्थापकीय तयारीका बारेमा छलफल भएको थियो ।
छलफलमा गृहमन्त्रीले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिई कार्य गरिरहेको बताए ।
मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको पनि उनले बताए । यसका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुनेगरी सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ थियो ।
आपराधिक तथा निर्वाचनविरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको पनि गृहमन्त्री अर्यालले अवगत गराएका छन् ।