ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ : महेश बस्नेत

शुक्रबार, १६ माघ २०८२

काठमाडौं— नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन् । भदौ २३ गतेको जेन—जी आन्दोलनको क्रममा २३ जनाको मुत्यु भएको उल्लेख गर्दै उनले अध्यक्ष ओलीले प्रधमानमन्त्रीको हैसियतमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको बताएका छन् ।

२४ भदौमा संविधान र सुरक्षा निकायहरु नै हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र गरिएको उनको भनाइ छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको टिप्पणी गरेका छन् ।

उनले भागेकामध्ये दुई जना कैदीको मृत्यु हुनुका साथै दुई जना फरार कैदीले आमा र श्रीमतिको हत्या गरेको भन्दै यसको जिम्मेवारी सभापति लामिछानेले लिनुपर्ने जिकिर गरे । उनले मुलुकमा आगजनी र लुटपाटमार्फत भएको क्षतिको जिम्मा लामिछानेसँगै बालेन्द्र साहले लिनुपर्ने जिकिर गरे ।

उनले भने, ‘आज पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ । सेनाले भदौ २३ मा १९ जनाको मृत्यु भएको जानकारी दियो । अध्यक्षले आफूले प्रधानमन्त्रीको हैसियतमा तत्काल मन्त्रिपरिषद् बैठक बोलाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिने र उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेँ ।

भदौ २४ गते जब हाम्रो संविधान हाइज्याक गरियो, सेना, प्रहरी सबै हाइज्याक भए, युवाहरुको दिमाग नै हाइज्याक गरेर सिंहदरबार, सर्वोच्च अदालत लगायतका संवैधानिक संस्थाहरु जलाउने षड्यन्त्र गरियो भनिएको छ । म यी साथिहरुलाई सोध्न चाहन्छु बालेन आउ, बालेन नआउने भए रविजीलाई जेलबाट निकाल भन्ने को हो ? कसको स्टाटसले यीनि उकासिए ।

रवि १४ हजार कैदीसँगै आफू पनि निस्किए, त्यसमध्ये १० जना कैदी मरे । दुई जनाले आमा र श्रीमति पनि मारे । त्यो १२ जना मारेको जिम्मा रवि लामिछानेले लिनुपर्छ । बालेनले लिनुपर्छ । यिनिहरुलाई उकास्ने राजीव खत्री, निश्चल बस्नेत र हिमेश पन्तले लिनुपर्छ । यीनका हिसावकिताव एक एक गरी हुन्छ ।’

उनले आन्दोलनको नाममा भएको ध्वंसको सबै हिसावकिताव गर्ने चेतावनी समेत दिए । उनले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको पनि टिप्पणी गरे ।