अमेरिकामा रहेका नेपालीलाई अर्को आपत
काठमाडौं—अमेरिकामा रहेका नेपालीलाई अर्को आपत आइलागेको छ । झुटा विवरण पेश गरेर सुविधा लिएका नेपालीहरुको भिसा वा ग्रिनकार्ड रद्ध हुने भएको छ ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले प्रेस विज्ञप्तिमार्फत झुटा विवरण पेश गरी स्वास्थ्य उपचार, आवास, परिवार तथा शैक्षिक सहायतालगायतमा सहुलियत सुविधा लिएको भए भिसा वा ग्रिनकार्ड रद्द गर्ने चेतावनी दिएको छ ।
अमेरिकी सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य उपचार, आवास, परिवार तथा शैक्षिक सहायतालगायतमा सहुलियत सुविधा प्रदान गर्दै आएको छ । यस्तो सुविधा प्राप्त गर्नेमा सन् २०२४ को तथ्याङ्कले नेपाली मूलका नागरिक माथिल्लो सूचीमा रहेको पाइएको छ ।
दूतावासका अनुसार विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीले अवैधानिक तवर वा गलत सूचना तथा विवरण पेश गरेर सहुलियत सुविधा प्राप्त गरेको बुझिएको छ । यसले उनीहरुको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुनसक्ने जानकारी अधिकारीबाट प्राप्त भएको दूतावासको भनाइ छ ।
अमेरिकी सरकारले नेपाली नागरिकका लागि आप्रवासी भिसासमेत बन्द गरेको जनाइएको छ । दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरुको माथिल्लो सूचीमा रहेको पाइएकोले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ ।’
यसअघि बी १ तथा बी २ भिसामा अमेरिका गएका नेपाली ओभरस्टे र रोजगारीलगायत तोकिएभन्दा फरक काममा संलग्न भएको पाइएपछि गत जनवरी २१ तारिखदेखि त्यस्तो भिसा आवेदनमा पाँच हजारदेखि पन्ध्र हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने प्रावधान पनि लागू भइसकेको छ ।
दूतावासले सहुलियतपूर्ण सुविधा वा भिसाको दुरुपयोग नगर्न आग्रह गरेको छ । यस्ता कार्यले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप प्रभावित हुनसक्ने चेतावनी दिँदै भनिएको छ, ‘भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकलाई भिसा प्राप्ति अझ कठिन हुन जाने र मुलुकको प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्नसक्छ ।’
यता, दूतावासको चेतावनीपूर्ण आग्रहमा नेपाल सरकारले प्रहरीबाट जारी हुने चालचलन रिपोर्टमा थप कडाइ गर्ने निर्णय हालै गरेको अवस्था छ।