कैलालीमा बालेन शाहको डमी बनेका व्यक्तिको पहिचान खुल्यो

शुक्रबार, १६ माघ २०८२

काठमाडौं—कैलालीमा बालेन शाहको डमी बनेका व्यक्तिको पहिचान खुलेको छ ।

रास्वपाका नेता, कार्यकर्ता र समर्थकलाई गाडीभित्रैबाट हात हल्लाएर अगाडि बढिरहेका बेलामा बालेनको हुलियामा कारको रुफटपबाट आधा शरीर निकालेर घण्टी बजाउँदै हात हल्लाउने व्यक्ति टीकापुरका स्थानीय गोपाल कोइराला भएको खुलेको छ ।

उनले डेढ महिनाअघि मात्र अनलाइनबाट रास्वपाको सदस्यता लिएका थिए ।

१३ माघमा कैलाली पुगेका शाहले अहिलेसम्म कतै सार्वजनिक रुपमा कुराकानी गरेका छैनन् । उनी रास्वपाका नेता, कार्यकर्ता र समर्थकलाई प्रायः गाडीभित्रैबाट हात हल्लाएर एकपछि अर्को ठाउँ पुगिरहेका छन् ।

शाह डोटीमा रहेका बेला बिहीबार सामाजिक सञ्जालमा बालेनको हुलियामा देखिएका एक व्यक्तिले उनकै शैलीमा कारको रुफटपबाट आधा शरीर निकालेर घण्टी बजाउँदै हात हल्लाएको भिडियो सार्वजनिक भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त भिडियोमा देखिएका व्यक्तिलाई डमी बालेनको संज्ञा दिइरहेका छन् ।

उक्त भिडियो पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्की बजारको भएको खुलेको छ । गाडीबाट बालेनकै हुलियामा देखिएर हात हल्लाउने व्यक्ति टीकापुरका स्थानीय गोपाल कोइराला भएको खुलेको छ ।

अनुहारमा बालेनकै जस्तो दारी, कालो टोपी, चस्मा र शरीरमा कालै लुगा लगाएका उनलाई धेरैले बालेन सम्झिए । तर उनी पुग्नुभन्दा केही मिनेट अघि मात्र प्रहरीको स्कटिङसहित बालेन लम्की बजारबाट अघि बढिसकेका थिए । बालेन केही सेकेन्ड त्यहाँ रोकिए । त्यसपछि उनकै हुलियाका व्यक्ति गाडीबाट हात हल्लाउन थालेको देखिएपछि अलमलमा परेका थिए ।

डेढ महिनाअघि मात्र अनलाइनबाट रास्वपाको सदस्यता लिएको बताउने कोइराला आफू बालेनको समर्थक भएकाले विगतदेखि उनको जस्तै भेषभूषामा देखिँदै आएको दाबी गरेका छन् । कोइरालाले बालेन आउने भएपछि उनको स्वागत र भेटघाटका लागि उस्तै हुलियामा लम्की पुगेको तर आफूले बालेनलाई भेट्न नपाएको दाबी गरेका छन् ।

‘अस्ति बालेन आउने दिनमा स्वागतका लागि म पनि गाडीमा गएको थिएँ । बालेन मनपर्ने भएकाले विगतदेखि उनको जस्तै भेषभूषा बनाएर हिँडिरहेका हुन्थेँ,’ कोइरालाले भने, ‘अस्ति लम्कीमा उनलाई भेटन पुगेको थिएँ । त्यही बेला पत्रकार साथीहरुले भिडियो खिच्नुभएको रहेछ । डमी बालेन भनेर अहिले कन्ट्रोभर्सी फैलाइएको रहेछ ।’

आफू पुग्नुभन्दा अगाडि नै बालेन हिँडिसकेको दाबी गर्दै उनले भेटघाट गर्न नपाएको बताए । ‘मिडियामा आएजस्तो बालेनलाई थाहा दिएर गाडीबाट घण्टी बजाएको होइन । साथीहरुले घण्टी बजाउँदै जाउँ कस्तो देखिन्छौ भनेपछि त्यस्तो गरेको थिएँ,’ उनी भन्छन्, ‘नियतबस र सुनियोजित रुपमा त्यस्तो गरेको होइन ।’

कोइरालाको यो भिडियो आएपछि शाहले सुदूरपश्चिमका पहाडी जिल्लामा समेत डमी बालेन हिँडाएको आशंका गरिन थालेको छ । तर रास्वपा सुदूरपश्चिमले भने यसबारे थाहा नभएको दाबी गरेको छ । प्रदेश सभापति प्रकाश विष्टले यो विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

१३ माघदेखि सुदूरपश्चिममा रहेका बालेन भने शुक्रबार अछाम पुगेका छन् । ठाउँ ठाउँमा रास्वपाका कार्यकर्ता र समर्थकलाई भेटघाट गरेर हिँड्ने बाहेक उनले कतैपनि सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन् ।