आशीका तामाङलाई कुखुराको भाले र खसी निर्वाचनका लागि बाधक

शुक्रबार, १६ माघ २०८२

काठमाडौं—आशीका तामाङलाई कुखुराको भाले र खसी निर्वाचनका लागि बाधक बनेका छन् ।

रास्वपाबाट धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेकी तामाङ्गले घण्टी बजाएर कुखुराको भाले र खसीसँग भोट मागेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

भालेको कानमा घण्टी बजाउँदै भन्छिन्, ‘दिदीलाई भोट हाल है भाले । चुनाव चिन्हचाँहि घण्टी । बुझ्यो नि ।’ भाले र खसीका भोटले चुनाव नजितिने भन्दै उनलाई धेरैले भोट माग्ने तरिका सुधार्न सुझाव दिएका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउँदैछ । चुनाव आउन ३४ दिन मात्र बाँकी छ । चुनाव नजिकिँदै गर्दा देशभर चुनावी माहौल तातेको छ । उम्मेदवारहरु भोट माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । भोट माग्ने क्रममा कतिपय उम्मेदवारले अनेक चटक पनि देखाइरहेका छन् ।

जुन राष्ट्रियस्तरमै चर्चाको विषय बनेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर–१ मा सामाजिक अभियन्ता आशिका तामाङ्गलाई उम्मेदवार बनाएको छ । पार्टीका अन्य आकांक्षीलाई पछाडि पारेर टिकट हत्याएकी आशिका निर्वाचन क्षेत्रमा दौडधुप गरिरहेकी छन् । सो क्रममा उनले थरीथरीका भावभङ्गिमा देखाइरहेकी छन् ।