​टीकापुर सितोरियो कराँते एकेडेमीद्वारा खेलाडीहरूको ग्रेडिङ तथा बेल्ट परीक्षण

शनिबार, १७ माघ २०८२

​टीकापुर, कैलाली – कैलालीको टीकापुरमा रहेको टीकापुर सितोरियो कराँते एकेडेमीले आफ्ना प्रशिक्षार्थी खेलाडीहरूको सीप र क्षमता मूल्याङ्कनका लागि बेल्ट परीक्षण (Grading) तथा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आफ्नै परीक्षणस्थलमा कार्यक्रम आयोजना गरिएको थियो ।

​लामो समयदेखि प्रशिक्षण लिइरहेका खेलाडीहरूले अहिलेसम्म के(कति सीप हासिल गरे र उनीहरू अर्को तह (बेल्ट) का लागि योग्य छन् कि छैनन् भन्ने निर्र्केयोल गर्न यो परीक्षण आयोजना गरिएको हो। एकेडेमीको आफ्नै प्रशिक्षण केन्द्र र खुल्ला चौर (पुरानो हाटबजार) मा आयोजित उक्त कार्यक्रममा दर्जनौं युवा तथा बाल खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​परीक्षणका मुख्य पक्षहरू

​सीप परीक्षण : खेलाडीहरूले कराँतेका विभिन्न ‘काता’ र ‘कुमिते’ (फाइट) का कौशलहरू प्रदर्शन गरेका थिए।

​शारीरिक र मानसिक अनुशासन : एकेडेमीको मूल नारा ‘विकास, अनुशासन र गतिशीलता’ लाई आत्मसाथ गर्दै खेलाडीहरूको अनुशासनको पनि कडा परीक्षण गरिएको थियो।

स्तर निर्धारण : प्रशिक्षकहरूले खेलाडीको प्रदर्शनको आधारमा उनीहरूलाई माथिल्लो बेल्ट प्रदान गर्ने वा नगर्ने निर्णय गर्नेछन्।

​२०७८ सालमा स्थापना भएको यस एकेडेमीले छोटो समयमै विभिन्न क्षेत्रीय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागी भई थुप्रै ट्रफी र पदकहरू जित्न सफल भइसकेको छ। एकेडेमीको कार्यालयमा सजाइएका विभिन्न पुरस्कारहरूले यसको सफल यात्रालाई प्रस्ट पार्छन्।

​हाल एकेडेमीमा बिहान ५ः३० देखि ७ः३० सम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म नियमित प्रशिक्षण हुने गरेको छ। स्थानीय स्तरमा खेलकुदको विकास र युवाहरूलाई अनुशासित बनाउन एकेडेमीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।