बाजुराको पोरखेगढी : सेताम्यहिउँमा रमाउँदै पर्यटकको भिड
काठमाडौं—बाजुराको प्रमुख पर्यटकीय गन्तव्य पोरखेगढी यतिबेला बाक्लो हिमपातसँगै सेताम्यहिउँको तन्नाले ढाकिएको छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोरखेगढी अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ । हिउँमा रमाउन दिनहुँ हजारौंको संख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन्।
बाजुराको सबैभन्दा ठूलो वन क्षेत्र, विशालघाँसे मैदान, अग्ला हिमचुचुरा र प्रशस्त प्राकृतिक स्रोत–साधनले भरिएको पोरखे क्षेत्र यति बेला प्रकृतिको रानीजस्तै सिँगारिएको देखिन्छ ।
हरेकवर्ष हिउँदयाममा सेताम्य हिउँले ढाकिने पोरखे गढीले पर्यटकलाई लोभ्याउँदै आएको छ ।
वरपरका सेताम्य डाँडापाखा, हँसिला हिमाल र हिउँसँगै नाचिरहेको प्रकृतिको दृश्य अत्यन्तै मनमोहक र रमणीय देखिन्छ । चिसो बढे पनि हिउँको आनन्द लिन पर्यटकको चहलपहल भने झनै बढेको छ।
आन्तरिक तथा बाह्यपर्यटकहरू समूह–समूहमा कालाजग्रा–पोरखेगढीको अवलोकनमा जुटिरहेका छन्।
पर्यटकहरू हिउँका घर तथा मानव आकृति बनाउने, चिप्लेटी खेल्ने, एक–आपसमा हिउँका डल्ला हानाहान गर्ने तथा टिकटक र रिल बनाउने गतिविधिमा रमाइरहेका देखिन्छन्। यसले पोरखेगढीलाई अझै जीवन्त बनाएको छ ।
कालाजग्रा–पोरखेगढी धार्मिक र ऐतिहासिक दृष्टिले पनिमहत्वपूर्ण मानिन्छ । काला जग्रा कालिका देवीको पूजा–आराधनाका लागि यो क्षेत्र प्रमुख धार्मिक गन्तव्यहो भने पोरखेगढी ऐतिहासिक महत्व बोकेको क्षेत्रका रूपमा चिनिन्छ ।
यहाँ अवस्थित पोरखेगढी दरबारलाई विगतमा सैनिक तालिम केन्द्र तथा मित्र राज्यबीच भेटघाटस्थलका रूपमा लिइन्थ्यो । यद्यपि, उक्त दरबार हाल भग्नावस्थामा रहेको छ ।
स्थानीय प्रशान्तराज जोशीका अनुसार यहाँका नौ वटै स्थानीयतहले समन्वय गरी पूर्वाधार विकास गर्न सके पोरखेगढीको पर्यटन प्रवद्र्धन भई आर्थिक उपार्जनमा ठुलो टेवा पुग्नेछ। सडक सञ्जाल विस्तार, होमस्टे सञ्चालन तथा अन्य भौतिकपूर्वाधार विकास गर्न सके पोरखेगढी विश्वसामु चिनिने उनको विश्वास छ ।
पहिलो पटक पोरखेगढीको बाक्लो हिउँमा रमाउने अवसर पाएकी नेपालगञ्जउपमहानगरपालिका–२ कीपुष्पागिरीले निकै खुसी लागेको बताइन्।
‘मैले यस अघि कहिल्यै हिउँ देखेकी थिइनँ। पहिलो पटक बाजुरामै हिउँ देख्न पाएँ, निकै आनन्द आएको छ,’उनले भनिन्, ‘झन् हिउँ परिरहेको दृश्य देख्न पाए कस्तो रमाइलो हुन्थ्यो होला।’
उनले यस्ता सम्भावनायुक्त क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्। त्रिवेणीनगरपालिका–२ का स्थानीयकुमार न्यौपानेले कालाजग्रा–पोरखेगढीमा पर्यटक आवागमन बढाउन प्रचार–प्रसार अत्यन्त आवश्यक रहेको बताए। स्थानीय सरकार र सरोकारवालाले सहकार्य गरे आन्तरिक मात्र नभई बाह्य पर्यटक समेत भित्र्याउन सकिने उनको भनाइ छ ।
यसैबीच, नेपालपत्रकार महासंघ बाजुराले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि विशेष अभियान सुरु गरेको जनाएको छ । महासंघका सह–सचिव जनक बोहराका अनुसार जिल्लाका पर्यटकीय गन्तव्यलाई उजागर गर्नु महासंघको दायित्व हो। ‘हाम्रो टिम निर्वाचि तभएपछि पहिलो पूर्ण बैठक पोरखेगढीमै आयोजना गरिएको हो,’उनले भने।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिकमहत्वले भरिपूर्ण पोरखेगढी अझै पर्याप्त पर्यटन प्रवद्र्धनको पर्खाइमा रहेको देखिन्छ। हिउँले ढाकिएको कालाजग्रा–पोरखेगढीशान्तवातावरण र सेताम्य दृश्यका कारणअप्सराझैँ मनमोहक देखिन्छ।
पोरखेगढी क्षेत्रभित्र चणिदह, बार्या ताल, पोरखे ताल, कालाजग्रा गुफातालजस्ता साना–ठूला सुन्दर तालहरू रहेका छन्। घना जंगलभित्र लोपोन्मुख वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान समेत रहेको छ।
स्थानीयतहले विशेष नीतिअपनाई संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासमा ध्यानदिन सके पोरखेगढी क्षेत्रले पर्यटन तथा आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने देखिन्छ। सेताम्यहिउँको सामिप्यमा रमाउन चाहने पर्यटकका लागि पोरखेगढी यतिबेला स्वर्गजस्तै बनेको छ।