चुनावी अभियानका क्रममा बेहोस भएका सञ्चारकर्मी दिनेश सिटौलाको वास्तविक अवस्था सार्वजनिक गर्न आफन्तको माग

शनिबार, १७ माघ २०८२

काठमाडौं—बालेन शाहको चुनावी अभियानका क्रममा बेहोस भएका सञ्चारकर्मी दिनेश सिटौलाको वास्तविक अवस्था सार्वजनिक गर्न आफन्तले माग गरेका छन् ।

ग्राण्डी अस्पतालमा उपचार भइरहेका सिटौला अछाममा वेहोस भएका थिए । बालेनकै कारण अस्पतालले स्वास्थ्य अवस्था सार्वजनिक नगरेको आरोप लगाउँदै आफन्त बालेनसँग आक्रोशित भएका छन् ।

दिउँसो १२ बजे बालेन आफैँ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

चिकित्सकले सिटौला पूर्णरूपमा अचेत रहेको र भोलि बिहान ७ बजेसम्म अब्जर्भेसनमा राखिने बताएका छन् । अस्पतालमै रहेका चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले अस्पतालले आधिकारिक जानकारी गराउनुपर्ने बताए ।

उनले भने, ‘अस्पतालले अहिलेसम्म आधिकारिकरूपले केही बताएको छैन, हामी सबै चिन्तामा छौं ।’ बलामीसँगै रहेका सिटौलाका भाइ उमेश भन्छन्, ‘अस्पतालले हामीलाई ३ बजेभित्र वास्तविक अवस्था भन्छौँ भनेको थियो, तर बालेनले भोलि ७ बजेसम्म पर्खिनुस् भनेपछि अस्पताल पनि रोकियो ।’

४३ वर्षीय सिटौला नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा हुन् । उनलाई मस्तिष्क पक्षघात भएको हो । सिटौलालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बिरामीका दाजु र भाइबाहेक बसैलाई पनि भेट्न दिइएको छैन । बालेनले पनि प्रत्यक्ष भेट्न पाएनन् । आफन्तजनहरू चमत्कारको आशामा छन् ।