मलाई गोली चलाउने आदेश दियो भन्नेहरू नै अपराधी हुन् : ओली

बिहिबार, २२ माघ २०८२

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते गोली चलाउने आदेश दिएको भनेर आफूमाथि झुटा आरोप लगाएको बताएका छन् ।

बुधबार राति एमालेको काठमाडौं-झापा सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा उनले जेनजीका नाममा विध्वंश मच्चाउनेहरूले नै आफूलाई झुटा आरोप लगाइरहेको दाबी गरे ।

आफूलाई गोली चलाउन आदेश दियो भन्नेहरू नै अपराधी रहेको टिप्पणी गरे ।

तत्कालीन प्रधानमन्त्री ओलीले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बदनाम गर्ने काम गरेको उल्लेख गरे ।

‘सबैले बा भने भन्ने रिसले यिनीहरूले केही मान्छे मार्ने परिस्थिति बनाएर ऊ हत्यारा हो भनेर भन्दैछन् ।

आगो लगाएर मार्ने उनीहरू अनि हत्यारा हुने केपी ओली ?,’ ओलीले भने, ‘मराउने को हुन्, यिनीहरू ? अनि मराउनेहरूले उल्टै हाम्रा विरुद्ध मार्ने र मराउने, आगो लगाउने र गोली चलाउन बाध्य पार्नेहरूले हाम्रा विरुद्ध, षड्यन्त्रका पोकाहरूले त्यस्ता घृणित लाञ्छना लगाएर, झुटा आरोप लगाएर देश दुनियाँमा बदनाम गर्ने काम गरेका छन् ।’

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले आफूले आदेश नदिएको दोहोर्‍याए । ‘जुन केपी ओली बालबालिका भन्दा हुरुक्क हुन्छ, तिनलाई त्यति माया गर्छ, आफ्न बाउआमाले भन्दा कम माया गर्दिनँ, त्यही केपी ओलीले बच्चा मार्‍यो बच्चा मार्‍यो भनेर भन्याछन् । मान्छेहरू अलि भ्रममा पर्‍याछन्’, ओलीले भने ।