असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले गर्‍यो ‘नो भोट’ को निर्णय

बिहिबार, २२ माघ २०८२

काठमाडौं—राज्यले सुरक्षा दिन नसकेको भन्दै सिंगो गाउँले निर्वाचन बहिस्कार गरेको छ ।

१ महिनाको अवधिमा ४ जनाको हत्या भएपछि ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले फागुन २१ गतेको निर्वाचन बहिस्कार गरेका हु्न् ।

एक साता अघि ८१ वर्षीया चन्द्रविक्रम र उनकी श्रीमती चन्द्रमाया राईको र एक महिनाअघि ६० वर्षीय सोभितमान थापामगर र उनकी श्रीमतीको विभत्स हत्या भएको थियो ।

उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका छन् ।

भदौरेका समाजसेवी सन्तोषकाजी कार्की भन्छन्, ‘असुरक्षा महसुस गरेर काठमाडौं र धरानतिर बसोबास र आफन्त हुनेहरूले गाउँ छोडिरहेका छन् । बाँकी भएकाहरू दुई-तीन घर जम्मा भएर एकै ठाउँमा आलोपालो सुत्न थालेका छन् ।’

कार्की भन्छन्, ‘किसानका गोठबाट खसी–बोका समेत चोरी भएका छन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नभएपछि २१ फागुनको चुनाव पनि बहिष्कार गर्छौं भनेका छन् ।’

लगातारका हत्या, लुटपाट र हिंसाका घटनापछि गाउँलेहरूले भेला भएर शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन् । भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको र राज्यको कमजोरीकै कारण अपराधीहरूको मनोबल बढ्दै जाँदा सर्वसाधारण नागरिक भय, त्रास र मानसिक तनावमा बाँच्न बाध्य भएको ठहर गरेको छ ।

भेलाले पीडित परिवारलाई न्याय दिलाउने, नागरिक सुरक्षाका सवालमा राज्यलाई दबाब दिने तथा चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने भन्दै कार्कीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ ।

भेलाले जघन्य अपराधको प्रकृति, अपराधको पृष्ठभूमि र समाजमा परेको गम्भीर प्रभावलाई ध्यानमा राख्दै दुर्लभ र क्रूर अपराधमा मृत्युदण्डको व्यवस्था गरिनुपर्ने मागसमेत अघि सारेको छ । यसका लागि संघीय संसदमार्फत कानुन संशोधन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

राज्यले अपराधीलाई कानुनी दायरामा ल्याई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित नगरेसम्म तथा आफ्ना मागहरू सम्बोधन नभएसम्म आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णय समेत गरेको संघर्ष समिति संयोजक कार्कीले जानकारी दिए ।

यस्तै व्यक्तिगत भेटघाटबाहेक कुनै पनि राजनीतिक सभा, जुलुस तथा भेला आयोजना नगर्न सबै दलहरूलाई आग्रह गर्दै त्यस्ता कार्यक्रममा सहभागी नहुने निर्णय पनि भेलाले गरेको छ ।