कांग्रेसको नीतिः निर्वाचन प्रचार प्रसार गर्दा अन्य दलका उम्मेदवारलाई गाली गर्न नपाइने
काठमाडौं—नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव प्रचारप्रसारको क्रममा कुनैपनि राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र व्यक्तित्वहरु कसैलाई पनि गालि नगर्न निर्देशन दिएका छन् ।
थापाले ‘निर्वाचनको मैदान दुश्मनीको अखडा नभएको बताउदै विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञको रुपमा लिएर राजनीतक व्यवहार गर्न निर्देशन दिएका हुन् । कांग्रेसले आइतबार बिहान कार्यसम्पादन समितिको भर्चुअल बैठकबाट ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ पारित गर्दै प्रचार प्रसारका क्रममा कसैलाई पनि गाली नगर्ने उल्लेख गरेको छ । ‘
‘नेपाली काँग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ,’ निर्देशिकामा लेखिएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बनाइएको निर्देशिकामा ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो,’ भन्ने वाक्यांश उल्लेख छ ।
चुनावी मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार कांग्रेसका लागि दुश्मन नभएकाले चुनावी प्रतिस्पर्धाका क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकून् भनेर व्यवहारबाट सन्देश प्रवाहित गर्नुपर्छ भनेर यस्तो नीति बनाएको कांग्रेसले जनाएको छ ।
‘निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तव्य मूलतः दलहरूकै हो, यसमा अन्य सबै दललाई घच्घच्याउने भूमिकासमेत कांग्रेसले निर्वाह गर्नुछ र गर्नेछ,’ निर्देशिकामा लेखिएको छ, ‘घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् । सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णत संयमित र परिपक्व रहनेछ ।’