सरकारको एक्लो टाउको दुखाई बन्दै दुर्गा प्रसाईं
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं अहिले २१ फागुनको चुनावका लागि एक्ला संगठित चुनौती बनेका छन् माघ महिनामा मात्र उनी दुईपटक गिरफ्तार भए । २३ माघमा पक्राउ परेका प्रसाईलाई प्रहरीले आइतबार साँझ हाजिरी जमानीमा रिहा गरेको छ ।
जेनजी आन्दोलनलगत्तै अन्तरिम सरकार गठनको कसरत चल्दै गर्दा मुख्य राजनीतिक दलका शीर्ष नेताहरू कोही सैनिक ब्यारेकमा थिए त कोही अर्धभूमिगतजस्तै थिए त्यति संवेदनशील अवस्थामा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रसाईलाई मुख्यालयमै बोलाएर परामर्शसमेत लिए ।
जेनजी अगुवाहरू भने प्रसाई र रास्वपालाई आन्दोलनको सरोकारवाला मान्न तयार भएनन् । जंगी अड्डाबाट निस्केर आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका उनै प्रसाई अहिले सरकारको ठुलो टाउको दुखाई बनेका छन् ।
प्रसाईंले सार्वजनिक रूपमा २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै हालतमा नहुने बताइरहेका छन् । चुनावअघि हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने उनको माग छ ।
सरकारले पटकपटक उनीसँग औपचारिकरअनौपचारिक वार्तासमेत गरेको छ । लघु वित्त र साना ऋणीसम्बन्धी उनका मागहरूप्रति सकारात्मक भए पनि उनका राजनीतिक माग पूरा गर्न सक्ने स्थितिमा सरकार छैन ।
प्रसाई भने आफ्ना राजनीतिक गतिविधि बढाइरहेका छन् । गत साता उनको अभियानले चितवनमा गरेको कार्यक्रममा स्थानीय प्रशासनले तोकेको क्षेत्रभन्दा अन्यत्र कार्यक्रम गरेपछि केही समय तनावको स्थितिसमेत सिर्जना भएको थियो ।
यसअघि प्रसाई निर्वाचत आयोगसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण पक्राउ परेका थिए । नेपाली कांग्रेसको वैधानिकताको विवादमा निर्वाचन आयोगले घुस खाएर गगन थापा पक्षलाई आधिकारिकता दिएको उनको आरोप थियो । आयोगले सो आरोपको खण्डन गर्दै सरकारसँग सहयोग मागेपछि ५ माघमा उनी पोखराबाट पक्राउ परेका थिए । दक्षिणकाली नगरपालिका–चाल्नाखेल हुँदै शुक्रबार मध्यान्ह वीरगन्ज जान लागेका प्रसाई बाटोबाटै पक्राउ परे । उनलाई निजी कारबाट ओरालेर पक्राउ गरिएको थियो । विरगन्जमा हिन्दू राष्ट्र घोषणाका लागि कार्यक्रम गर्न लागेपछि प्रहरीले प्रसाईलाई रोक्ने रणनीति लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले निर्वाचन आयोगको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको दाबी गरिएको छ । तर सरकारले प्रसाईमाथि निगरानीमा राखेको विभिन्न घटनाक्रमबाट पुष्टि हुन्छ ।