ह्वात्तै घट्यो अण्डाको मूल्य
काठमाडौँ – अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य घटाइएको जानकारी दिएको छ।
नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा (३० ) वटाको एक क्रेट) ३७५ रुपैयाँ र मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डाको मूल्य ४३५ र मिडियमको ४०५ रुपैयाँ थियो। त्यसभन्दा अगाडि, माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम ४७५ रुपैयाँसम्म पुगेको थियो।
यसअघि गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो समयमा फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला ५५० रुपैयाँमा बिक्री भएको थियो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार स्वदेशमै उत्पादन बढ्नु र सोही समयमा भारतबाट ठूलो परिमाणमा अण्डा नेपाल भित्रिनु मूल्य घट्नुको मुख्य कारण हो। “उत्पादन बढी भएको र भारतीय अण्डा बजारमा प्रवेश गरेपछि स्थानीय अण्डाले उचित मूल्य पाउन सकेको छैन,” उनले भनेका छन् ।
मूल्य घट्दा किसान भने निराश छन् । संघका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ, जसअनुसार एक क्रेटको लागत मूल्य ५७४ रुपैयाँ ६ पैसा हुन्छ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः मूल्य घटेपछि किसान निराश बनेका हुन् । नेपाल लेयर्स कुखुरापालक संघले देशभरका फार्मबाट मूल्य संकलन गरी चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य सार्वजनिक गर्ने गर्दछ।