रास्वपा उम्मेदवार सहकारी पीडितको घेराउमा
काठमाडौं—रास्वपाका उम्मेदवारलाई सहकारी पीडितले घेराबन्दी गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रम गरिरहेका रास्वपाका उम्मेदवार अधिवक्ता सुलभ खरेल सहकारी पीडितको घेराउमा परेका हुन्।
भोट माग्दै बुटवलका विभिन्न स्थानमा पुगेका खरेलसँग सहकारी पीडितले आफ्ना समस्या र बचत रकम फिर्ताबारे जवाफ मागेका थिए।
मतदाताले सहकारी ठगी र पीडितको पीडाबारे जवाफ मागेपछि खरेल चुपचाप नजिकैको एक होटलमा प्रवेश गरेको बताइएको छ।
त्यसपछि आक्रोशित पीडितहरू होटेलबाहिरै प्रदर्शनमा उत्रिएका हुन् ।
स्थानीय चेतनाथ शर्माको नेतृत्वमा भेला भएका पीडितहरूले ‘जेनजीका माग पूरा भए ?’, ‘हामीले खाई–नखाई जम्मा गरेको रकम कहिले फिर्ता हुन्छ ?’, ‘सहकारी ठगीको जिम्मेवार को ?’, ‘तिम्रो नेता खोइ ?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
उनीमाथि भदौ २४ गतेको जेन जी विध्वंशका क्रममा सर्वोच्च अदालत जलाउन भदौ २३ मा ह्वाट्सएप र सामाजिक सञ्जालमा उक्साएको आरोप लागेको छ ।
स्थानीय मतदाताले खरेलमाथि सहकारी प्रकरणबारे स्पष्ट धारणा सार्वजनिक गर्न दबाब बढाएका छन् ।