दुर्गा प्रसाईको समूहले निशेधाज्ञा तोड्ने

बिहिबार, २९ माघ २०८२

काठमाडौं—दुर्गा प्रसाईको समूहले निशेधाज्ञा तोड्ने भएको छ । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानले सरकारले लगाएको निशेधाज्ञालाई तोड्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने भएको छ ।

झापामा रहेका ज्ञानेन्द्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत काठमाडौं फर्किदैछन् ।

उनलाई स्वागत गर्न राजवादीहरु एयरपोर्टमै भेला हुने भएपछि स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा प्रदर्शन, जुलुस, हड्ताल, र्याली गर्न रोक लगाएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानको नाममा व्यवस्थाविरोधी गतिविधि चलाइरहेका दुर्गा प्रसाईंले राज्यलाई फेरि खुलेआम चुनौती दिएका छन् ।

एअरपोर्ट परिसरमा भिडभाड गर्न नपाइने कानुनी व्यवस्था लत्याउँदै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समर्थक भेला गराएर नाराबाजी गराउन लागेका हुन् । आज भक्तपुरको मध्यपुर ठिमीस्थित निजी निवासमा पत्रकार सम्मेलन गरेका प्रसाईंले काठमाडौँ आसपास जिल्लाका आफ्ना समर्थकलाई भोलि मध्याह्न १२ बजे विमानस्थलको गेटमा उपस्थित हुन भनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भोलिबाट विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन, जुलुस, हड्ताल, र्याली नगर्न तथा नगराउन सूचना जारी गरेको अवस्था छ । प्रसाईंले उक्त सूचना स्वीकार्य नभएको बताए ।

काठमाडौँ बाहिरबाट फर्किन लागेका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई नाराबाजीसहित विमानस्थलदेखि निर्मल निवाससम्म पुर्याउने सो समूहको तयारी छ । ‘भोलि महाराजधिराज सवारी हुने कार्यक्रम छ, सिडिओ कार्यालयले एयरपोर्ट वरिपरि हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ रे, तर केही फरक पर्दैन’, उनले भने, ‘नेपालीहरू घेरा तोडेर स्वागत गर्न जान्छन्, जाने हैन त ? समर्थकहरुतिर हेर्दै’

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले ज्ञानेन्द्रलाई पनि नडराउन आग्रह गरेका छन् । ‘हामी शान्तिपूर्ण तरिकाले उहाँलाई निर्मल निवाससम्म पुर्याउँछौँ, पुलिसले हस्तक्षेप नगरोस्’, उनले भने, ‘म राजालाई पनि के भन्न चाहन्छु भने तपाई पनि अब आँट गर्नुहोस्, हामी निर्मल निवास घेराऊ गरेर नारायणहिटीमा ल्याएर राख्छौँ, कसैले छेक्न सक्दैन ।’

प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको कल्पनासमेत नगर्न चेतावनी दिएका छन् । ‘तपाईहरुले मलाई जति थुने पनि थुन्नुहोस्, केही फरक पर्दैन, तर चुनावको कल्पना नगर्नुस्’, उनले थपे ।