पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने राजावादी योजनामा सरकार बाधक
काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने राजावादी योजनामा सरकार बाधक बनेको छ ।
फागुन १ गते शुक्रबार झापाबाट काठमाडौं फर्किदै गरेका शाहलाई स्वागत गर्ने तयारीमा रहेका राजावादीलाई रोक्न स्थानीय प्रशाशनले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक र विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन तथा सभा गर्न निषेधको आदेश जारी गरेको छ ।
निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।
बुधबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको निषेधाज्ञा आदेशमा भनिएको छ, ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ।’