जापानले नियन्त्रणमा लियो चिनियाँ जहाज
काठमाडौं – जापानी अधिकारीहरूले निरीक्षणका निम्ति रोक्न दिइएको निर्देशन नमानी भाग्न खोजेको माछा मार्ने एउटा चिनियाँ जहाजलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
जापानको मत्स्य एजेन्सीका अनुसार, उक्त जहाज नागासाकी प्रान्तको जापानी विशेष आर्थिक क्षेत्रभित्र फेला परेको थियो । बिहीबार त्यसलाई बीचैमा रोकेर क्याप्टेनलाई पक्राउ गरिएको हो ।
एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मत्स्य निरीक्षकले निरीक्षणका निम्ति जहाजका क्याप्टेनलाई रोक्न आदेश दिएका थिए, तर जहाजले उक्त निर्देशन पालना नगरी भाग्ने प्रयास गर्यो ।”
सन् २०२२ पछि यो एजेन्सीले माछा मार्ने चिनियाँ जहाज नियन्त्रणमा लिएको पहिलोपटक हो । जापानको यो कदमप्रति चीनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
जहाजमा ४७ वर्षीय चिनियाँ क्याप्टेनसहित ११ जना सवार थिए । अधिकारीहरू र जापानी सञ्चारमाध्यमले नियन्त्रणमा लिइएको जहाजलाई ठूलो क्षमताको ‘टाइगर नेट फिसिङ बोट’का रूपमा वर्णन गरेका छन् ।
शुक्रबार जापानको मन्त्रिपरिषद्का मुख्यसचिव मिनोरु किहाराले भने, “विदेशी जहाजहरूद्वारा हुने अवैध माछा मार्ने कार्यलाई रोक्न र निरुत्साहित गर्न हामीले आफ्नो प्रवर्तन गतिविधिमा दृढ कदम चाल्न जारी राख्नेछौँ ।”
दुई देशबीचको सम्बन्ध निकै चिसिएको समयमा यो घटना भएको छ । गत नोभेम्बरमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले चीनले ताइवानमाथि बल प्रयोग गरेमा टोकियोले सैन्य हस्तक्षेप गर्ने संकेत गरेपछि बेइजिङ आक्रोशित भएको थियो ।
चीनले लामो समयदेखि ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ । उक्त क्षेत्र सन् १९४५ सम्म लामो समय जापानको कब्जामा थियो । चीनले ताइवानलाई पुनर्मिलन गराउन बल प्रयोग गर्न सक्ने सम्भावनालाई पनि नकारेको छैन ।
चीनको परराष्ट्र मन्त्रालयले ताकाइचीको टिप्पणीलाई अत्यन्त खराब भन्दै टोकियोका राजदूतलाई बोलाएर सोधपुछ गरेको थियो । र, आफ्ना नागरिकलाई जापान भ्रमण वा अध्ययनका बारेमा पुनर्विचार गर्न चेतावनी दिएको थियो ।
यो कूटनीतिक विवादका कारण जापानमा चिनियाँ पर्यटकको संख्यामा ठूलो गिरावट आएको छ । पर्यटन र खुद्रा व्यापारसँग सम्बन्धित जापानी स्टकमा नकारात्मक असर पारेको छ ।
सन् २०२५ को अन्त्यतिर विवाद गहिरिँदै जाँदा बेइजिङले बारम्बार ताकाइचीलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरेको थियो । जापानलाई आगोसँग खेल्न बन्द गर्न चेतावनी दिएको थियो । बीबीसीबाट ।