उपेन्द्र यादवको जसपाले चुनाव जितेको खण्डमा शिक्षालाई निशुल्क गर्ने

शुक्रबार, १ फाल्गुन २०८२

काठमाडौं—उपेन्द्र यादवको जसपाले चुनाव जितेको खण्डमा शिक्षालाई निशुल्क गर्ने भएको छ ।

शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै जसपाले शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूपता, प्रविधिमैत्री, निःशुल्क, सिपमूलक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्ने जनाएको छ ।

जसपाले २०४७ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने वाचासमेत गरेको छ ।

जसपाले आफ्नो घोषणापत्रमा हालको संविधानले निकास नदिने भन्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने बताएको छ ।

जसपाले शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा सङ्घीयता र प्रादेशिक संरचना निर्माण, न्याय प्रणालीलाई सङ्घीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपालजस्ता निकाय गठन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।

‘यसले केवल प्रशासनिक सङ्घीयताको पक्षपोषण गरेको छ । यसैले मुलुकको विद्यमान शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलाई यथावत् राखेर सङ्घीय समाजवादी व्यवस्थाको आधारशिला खडा हुन सक्दैन’, जसपाको भनाइ छ ।

जसपाले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क (फ्रि भिसा र फ्रि टिकेट) रोजगारी प्रदान गर्ने नीति लागू गर्ने जनाएको छ । त्यसबाहेक वैज्ञानिक भूउपयोग भूमिसुधार र भू–व्यवस्थापन नीति लागू गर्ने, कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरण गर्ने जनाएको छ ।

जसपाले आफ्नो घोषणापत्रमा गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई आगामी ५ वर्षभित्र १० प्रतिशतमा ल्याउने जनाएको छ ।