भोटको विवेक : डिजिटल मासुभातको युगमा नवयुवाको जिम्मेवारी
काठमाडौं – नेपाल अहिले केवल नियमित चुनावी प्रक्रियातर्फ अघि बढिरहेको छैन, देश एक गहिरो राजनीतिक र सामाजिक संक्रमणको मोडमा उभिएको छ । जेन–जी आन्दोलनले स्थापित दलहरू, पुरानो राजनीतिक संस्कार र शासनशैलीमाथि तीव्र प्रश्न उठायो । युवापुस्ताले केवल सरकार परिवर्तन होइन, राजनीतिक संस्कृति परिवर्तनको माग गर्यो। यही पृष्ठभूमिमा आउँदै गरेको चुनाव सामान्य प्रतिस्पर्धा मात्र होइन—यो राजनीतिक गतिरोध अन्त्य गर्ने, विश्वास पुनर्स्थापित गर्ने र लोकतन्त्रलाई नयाँ दिशामा लैजाने ऐतिहासिक अवसर हो।
तर यस संवेदनशील मोडमा एउटा नयाँ शक्ति तीव्र रूपमा देखापरेको छ—डिजिटल मासुभात। विगतमा चुनावका बेला मासुभात, नगद वा भौतिक सुविधा बाँडेर मत प्रभावित गर्ने प्रवृत्तिलाई “मासुभात राजनीति” भनिन्थ्यो, जुन स्थानीय र सीमित थियो। अहिले त्यसको डिजिटल रूप विकसित भएको छ।
सामाजिक सञ्जालमा प्रायोजित सामग्री, फेक एकाउन्ट र बोटमार्फत प्रचार, भाइरल राष्ट्रवादी भिडियो, ट्रोल आर्मी, दुष्प्रचार र अफवाहमार्फत धारणा निर्माण गरिन्छ। अब पेट होइन, मस्तिष्क र भावना प्रभावित गरिन्छ। डिजिटल मासुभात सस्तो, छिटो र असीमित प्रभाव क्षेत्र भएको माध्यम हो, जसले मत मात्र होइन, सोच र राजनीतिक संस्कार निर्माण गर्छ।
जेन–जी आन्दोलनले देखायो कि युवापुस्ता सचेत, आक्रोशित र परिवर्तनमुखी छ। तर यही ऊर्जा यदि विवेकपूर्ण नीति बहसतर्फ नलागी भावनात्मक डिजिटल लहरतर्फ मोडियो भने, त्यसले सुधार होइन, अस्थिरता निम्त्याउन सक्छ। डिजिटल प्लेटफर्महरूले आक्रोशलाई तीव्र बनाउँछन्, निराशालाई सामूहिक भावना बनाउँछन् र कुनै व्यक्तिलाई “एक मात्र विकल्प” जस्तो प्रस्तुत गर्न सक्छन्। यसले सस्तो पपुलारिज्मलाई बल दिन्छ—जहाँ जटिल समस्याको सरल समाधान र शक्तिशाली नारा प्रस्तुत गरिन्छ। लोकप्रियता सजिलो हुन सक्छ, तर राष्ट्र सञ्चालन अत्यन्त जटिल र जिम्मेवारीपूर्ण कार्य हो।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेनिस्कीको प्रसङ्ग यस सन्दर्भमा उल्लेखनीय छ। परम्परागत राजनीतिज्ञ नभए पनि एक टेलिभिजन कलाकारको रूपमा उनले भ्रष्टाचारविरोधी सन्देश, नयाँ राजनीतिक शैली र डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत चुनाव जिते। पुराना दलप्रति जनआक्रोश र “नयाँ अनुहार” को चाहनाले उनको विजयलाई सहज बनायो। केही विश्लेषकहरूले यसलाई डिजिटल युगको लोकप्रिय उदयको उदाहरण मानेका छन्। तर त्यसपछि युक्रेन गम्भीर भू–राजनीतिक संकट र युद्धको अवस्थाबाट गुज्रियो। युद्धका कारणहरू ऐतिहासिक र रणनीतिक थिएस ती केवल डिजिटल लोकप्रियताको परिणाम थिएनन्। तथापि, यस अनुभवले एउटा गम्भीर प्रश्न उठाउँछ—के तीव्र डिजिटल लोकप्रियता दीर्घकालीन स्थायित्व, सुरक्षा र सुशासनको ग्यारेन्टी हुन सक्छरु युक्रेनको घटनाक्रमले देखायो कि छवि र समर्थन महत्त्वपूर्ण भए पनि राष्ट्रिय सुरक्षा, कूटनीति र शासन क्षमता अत्यन्त जटिल विषय हुन्।
नेपालजस्तो संक्रमणशील लोकतन्त्रका लागि यो एउटा महत्वपूर्ण चेतावनी हो। यहाँ अझै पनि संगठन संरचना, स्थानीय नेतृत्व र सामाजिक–सांस्कृतिक आधार निर्णायक छन्। तर छवि निर्माण र युवा मतदातामा प्रभाव पार्ने सन्दर्भमा डिजिटल क्षेत्र तीव्र रूपमा प्रभावशाली बन्दै गएको छ। अहिले नेपालमा मैदानमा संगठन र अनलाइनमा धारणा—दुवै समानान्तर चलिरहेका छन्। यदि गलत सूचना सुनियोजित रूपमा फैलियो, बाह्य डिजिटल प्रभाव चुनावमा मिसियो वा लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाइयो भने त्यसले केवल सरकार परिवर्तन मात्र होइन, राष्ट्रको निर्णय प्रक्रियामै असर पार्न सक्छ। आजको विश्वमा सूचना पनि रणनीतिक शक्ति होस प्रतिस्पर्धा सीमामा मात्र होइन, डिजिटल क्षेत्रमा पनि हुन्छ।
जेन–जी आन्दोलनपछि देशमा राजनीतिक नेतृत्वप्रति अविश्वास, संस्थागत कमजोरी, सामाजिक ध्रुवीकरण र आर्थिक असन्तोष स्पष्ट देखिन्छ। आगामी चुनावले वैधता पुनर्निर्माण गर्न, स्थिरता दिन र नयाँ राजनीतिक संस्कार स्थापना गर्न सक्छ। तर यदि चुनाव भावनात्मक डिजिटल लहरमा आधारित भयो, व्यक्तिपूजामा सीमित भयो र राष्ट्रवादलाई नारामा मात्र सीमित गरियो भने संकट अन्त्य होइन, झन् गहिरो हुन सक्छ।
यसै कारण अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी मतदातामाथि छ। नेतृत्वलाई डिजिटल मासुभात, भाइरल भिडियो, आकर्षक नारा वा ट्रेन्डिङ छविका आधारमा मात्र मूल्यांकन गर्नु खतरनाक हुन सक्छ। मतदाताले कुनै पनि नेताको वास्तविक घोषणापत्र, नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता, प्रशासनिक अनुभव, संकट व्यवस्थापन दक्षता र दीर्घकालीन दृष्टिकोणको आधारमा निर्णय गर्नुपर्छ। लोकप्रियता र क्षमता एउटै कुरा होइनन्। छवि र शासन दक्षता फरक कुरा हुन्। लोकतन्त्रमा मत केवल भावनाको अभिव्यक्ति होइन, भविष्यप्रतिको जिम्मेवार निर्णय पनि हो।
विशेष गरी नवयुवाले अब ढिलो गर्नु हुँदैन। जो डिजिटल मासुभातको आकर्षणमा पग्लिएर केवल लोकप्रियतामा आकर्षित हुँदैछन्, उनीहरूले तुरुन्त विवेकपूर्ण निर्णय लिनु आवश्यक छ। केवल लोकप्रिय नेताको पछि लागेर पपुलिस्टिक लहरमा बग्नु हुँदैन। देशको हित, दीर्घकालीन विकास र राष्ट्रिय स्वाधीनताको लागि क्षमतावान, अनुभव भएको र स्पष्ट नीतिको नेतृत्व छान्नु आवश्यक छ। नवयुवाले आफ्नो मत र सहभागितामा सक्रिय भई सुनिश्चित गर्नु पर्दछ कि आगामी नेतृत्व केवल भावनात्मक लोकप्रियतामा आधारित नहोस्, तर वास्तविक कार्यक्षमता, दीर्घकालीन सोच र राष्ट्रहितमा प्रतिबद्ध हो।
अन्ततः नेपाल ऐतिहासिक मोडमा उभिएको छ। आगामी चुनाव केवल सत्ता परिवर्तनको प्रक्रिया होइन, राजनीतिक संस्कार परिवर्तन र राष्ट्रिय दिशाको पुनर्निर्माणको अवसर हो। डिजिटल मासुभात आधुनिक राजनीतिक हतियार हो। यसको सचेत र जिम्मेवार प्रयोगले लोकतन्त्र बलियो बनाउन सक्छस दुरुपयोगले स्वाधीनता, सामाजिक एकता र स्थिरतामा दीर्घकालीन असर पार्न सक्छ। युक्रेनको अनुभवले देखाएको पाठ यही हो कि लोकप्रियता क्षणिक हुन सक्छ, तर राष्ट्र सञ्चालन दीर्घकालीन, जटिल र गम्भीर जिम्मेवारी हो। अब निर्णय मतदाताको हातमा छ—हामी भावनाको लहरमा बग्ने कि विवेक, क्षमता, अनुभव र संस्थागत मजबुतीलाई प्राथमिकता दिने ? नवयुवाले ढिलो नगरी आफ्नो विवेक प्रयोग गर्न आवश्यक छ, र केवल पपुलिस्टिक आकर्षण पछि नलागी, देशको हित र भविष्य सुनिश्चित गर्ने नेतृत्व छान्नु पर्नेछ।