नागुवासीले पनि गरे निर्वाचन बहिस्कार, निरास भएर फर्कियो सरकारी टोली
खलङ्गा – दार्चुलाको नौगाड गाउँपालिका–१ का नागुवासीले आगामी प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छन् । आफ्नो गाउँ विकासमा पछि परेको भन्दै नागुवासीले आगामी फागुन २१ गते हुने निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै दल र तिनका उम्मेदवारले विकास निर्माणमा लिखित प्रतिबद्धता नगरेसम्म निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।
राजनीतिक दल र तिनका उम्मेदवारले नागु क्षेत्रको सडक लगायतका विकास निर्माणका कार्य पूरा नगरेसम्म मतदानमा सहभागी नहुने निर्णय यथावत रहेको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताएका छन् । उनले भने, ‘यहाँको जनताको माग भनेकै दल्लेख–नागु सडक निर्माण हो । सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा हामी पुगेका हौ ।’
निर्वाचन बहिस्कार गर्ने निर्णय पछि नागुवासीलाई फकाउन माघ २४ गने नागु पुगेको सरकारी टोली रित्तो फर्किएको छ । पहिलोपटक नागुमै दुई दिनसम्म स्थानीयसँग छलफल तथा सरकारी सेवा गाउँमै दिए पनि नागुवासी आश्वास्त हुन सकेका छैनन् । माघ १ र १७ गते नागुक्षेत्रका स्थानीयले आमभेला गर्दै चुनाव बहिष्कारको घोषणा गरेको थिए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोलीले स्थानीयसँग छलफल गरे पनि सार्थकता पाउन सकेको छैन् । मतदाता फकाउन नागुक्षेत्र पुगेर स्थानीयलाई नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य उपचार सेवा र पशु उपचार सेवा तथा औषधि वितरण शिविर सञ्चालन गरिएको थियो ।
