चितवनका सहकारी पीडित रवि लामिछानेको प्रतिस्प्रधी खरेलको सरणमा

आइतबार, ३ फाल्गुन २०८२

काठमाडौँ – चितवनका सहकारी पीडितले आफ्नो बचत फिर्ताका लागि पहल गरिदिन कांग्रेसकी उमेदवारसँग अनुरोध गरेका छन् । रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धामा रहेकी चितवन २ की उम्मेदवार मीना खरेललाई ज्ञापनपत्र बुझाउँदै पीडित वचतकर्ताले रकम फिर्ता गरिदिन अनुरोध गरेका हुन् ।

रवि लामिछानेले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अनियमितता गरेको मुद्धाको तारिख धाइरहेका छन् ।विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम लामो समयदेखि फिर्ता नपाएको गुनासो गर्दै तत्काल प्रभावकारी पहल गरिदिन पीडितहरूले आग्रह गरेका छन् । उनीहरूले १३ बुँदे माग पेस गरेका छन् । सहकारी व्यवस्थापन तथा नियमनको कमजोरीले हजारौँ सर्वसाधारण मारमा परेको उनीहरूले जनाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै सहकारीपीडित संघर्ष समितिका संयोजक शालीग्राम दुवाडीले बचत रकम फिर्ता नपाउँदा आफूहरू पीडामा रहेको बताए । “हामीले जीवनभरको कमाइ सहकारीमा राख्यौँ । तर, अहिले आफ्नो रकम फिर्ता नपाएर आर्थिक तथा मानसिक पीडामा छौँ, ‘दुवाडी भन्छन्, ‘हाम्रो रकम सुरक्षित रूपमा फिर्ता गराउन सम्बन्धित निकायसँग पहल गरिदिन अनुरोध गर्दछौँ ।”

उमेदवार खरेलले पीडितहरूको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन् । समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । सहकारी क्षेत्रको समस्या समाधान गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताइन् ।

चितवनमा पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अनियमितताका कारण बचतकर्ताहरू आन्दोलित हुँदै आएका छन् । पीडितहरूले छिटो छानबिन गरी दोषीमाथि कारबाही र बचत रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन् ।