एक महिलाले १ करोड ५० लाखमा आफ्नो श्रीमान बेचिन्
काठमाडौं—एक महिलाले १ करोड ५० लाखमा आफ्नो श्रीमान बिक्रि गरेकी छन् ।
भोपालको पारिवारिक अदालतमा भएको सहमतिअनुसार ‘सौता’सँग नगद र सामान गरेर १ करोड ५० लाख रुपैयाँ बराबरको सम्पत्ति लिएर पति सुम्पिएकी हुन्।
बिक्रि भएका पुरुष सरकारी कर्मचारी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना केन्द्रीय सरकारको विभागसँग सम्बन्धित छ। जहाँ काम गर्ने ४२ वर्षीय अधिकारीले आफ्नो सहकर्मीसँग अफेयर सुरु गरे।
अझ रोचक कुरा के छ भने उनकी ती प्रेमिका उनीभन्दा १२ वर्ष जेठी ५४ वर्षकी हुन्।
उनीसँगको प्रेम मौलाउँदै गएपछि ती अधिकारीले आफ्ना घर, श्रीमती र दुई साना छोरीहरूलाई बेवास्ता गर्न थाले। घरमा दैनिक झगडा हुन थाल्यो।
आमाबाबुबिचको दैनिक ‘महाभारत’ले सबैभन्दा बढी असर १६ र १२ वर्षका दुई छोरीलाई पर्यो।
बाउआमाबिच दिनहुँ हुने झगडाकै कारण डिप्रेसनबाट पीडित जेठी छोरीले साहस बटुलेर यो मुद्दा पारिवारिक अदालत पुर्याइन्।
काउन्सिलिङ सत्रका क्रममा पतिले स्पष्ट रूपमा भने कि उनी श्रीमतीसँग दुस्खी छन् र सहकर्मी (प्रेमिका) सँग मात्र मानसिक शान्ति पाउँछन्।
जब मेलमिलाप असम्भव देखियो, तब श्रीमतीले व्यावहारिक बाटो रोजिन्।
यसपछि उनले आफ्ना छोरीहरूको भविष्य र जीविकोपार्जनका लागि भन्दै एउटा विलासी डुप्लेक्स घर र २७ लाख रुपैयाँ माग गरिन्।
अचम्मको कुरा उनको श्रीमान्की प्रेमिकाले यो सर्त सहर्ष स्वीकार गरिन्।
उनले अदालतमा भनिन्, ‘म आफ्नो पार्टनरको परिवारलाई निराश देख्न चाहन्नँ, त्यसैले म आफ्नो जीवनभरको बचत दिएर सम्झौता गर्न चाहन्छु।’
पारिवारिक विषयमा परामर्शदाताहरूका अनुसार ‘जब भावनात्मक सम्बन्ध सकिन्छ तब जबरजस्ती सँगै रहनुभन्दा छुट्टिनु राम्रो हुन्छ।’
उनीहरूको भनाइ छ, ‘यो निर्णय समाजलाई अनौठो लाग्न सक्छ, तर बालबालिकाको मानसिक स्वास्थ्य र आर्थिक सुरक्षाका लागि यो नै तार्किक कदम हो। जब सम्बन्ध बोझ बन्छ, तब शान्तिका लागि अलग्गिनु उत्तम हुन्छ।’