अछाम-२ : रास्वपाका शाहलाई उज्यालो नेपालका उम्मेदवारको समर्थन
काठमाडौं—कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले बालेन शाहका स्वकिय सचिवलाई जिताउने भएको छ ।
अछाम २ बाट उम्मेदवार बनेका उज्यालोका राजेश रावलले रास्वपा उम्मेदवार भूपदेव शाहलाई जिताउन उम्मेदवारी फिर्ता लिएका छन् ।
दुई पक्षबीच अछामको पूर्वाधार विकास, सुशासन र रोजगारी सिर्जना गर्ने साझा एजेन्डामा सहमति भएको छ ।
यो क्षेत्रबाट नेकपा माओवादीका शेरबहादुर विश्वकर्मा, नेपाली कांग्रेसका पुष्पबहादुर शाह, एमालेका यज्ञबहादुर बोगटी, नेकपाका बलबहादुर कुँवर लगायत उम्मेदवार रहेका छन् ।
यो निर्वाचन क्षेत्रबाट उज्यालो नेपालबाट राजेश रावल उम्मेदवार थिए । रास्वपाका शाह र रावलबीच आइतबार विभिन्न विषयमा सहमति भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, अछाम निर्वाचन क्षेत्र नम्बर २ का सन्दर्भमा लोकतान्त्रिक मूल्य—मान्यता, सुशासन, पारदर्शिता र अवस्था परिवर्तनको राजनीतिलाई मजबुत बनाउनका लागि राजेश रावल (उज्यालो नेपाल पार्टीका उम्मेदवार) र भूपदेव शाह (राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार) बीच देहायबमोजिम सहमति भएको घोषणा गर्दछौं, सहमतिपत्रमा लेखिएको छ, उज्यालो नेपालका उम्मेदवार राजेश रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई पूर्ण समर्थन गर्ने ।
रास्वपाका शाहले उज्यालो नेपालका रावलले उठाएका अछामको पूर्वाधार विकास, रोजगारी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अबलम्बन गर्ने, कृषि तथा स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने, विकट क्षेत्रका जनताको सेवामा राज्यको प्रभावकारी पहुँच पुर्याउन जोडदार पहल गर्ने लगायतका एजेन्डालाई स्वीकार गर्ने भनिएको छ ।
उज्यालो नेपालले पनि रास्वपाका उम्मेदवार शाहका पक्षमा अभियान सञ्चालन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । सहमतिपत्रमा शाह र रावलको हस्ताक्षर रहेको छ ।
उज्यालो नेपालका रावलले उम्मेदवारी फिर्ता लिए पनि अछाम २ को मतपत्रमा उज्यालो नेपालको चुनाव चिह्न भने रहनेछ ।