रविलाई मतदाताको प्रश्न, ‘जेलका कैदीबन्दी निकाल्न तपाईँले नेतृत्व गर्नुभएको हो ?’
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई यसअघि भोट हालेका चितवन –२ का जनताले र्याख्र्याख्ती पारेका छन् । जेनजी आन्दोलनका बेला जेलफोडेर जेलबाट कैदीबन्दी निकाल्न भूमिका लेखेको भन्दै मतदाताले रविसँग यसो किन गर्नुभएको हो ? भनेर प्रश्न गरेका छन् ।
मतदाताको प्रश्नमा रविले आफूलाई जेलरले सुरक्षा चुनौती बढेको भन्दै जबरजस्ती ‘जा’ भनेर पत्र थमाएपछि बाहिर निश्किएको जवाफ दिएका छन् । मतदाताले जेनजी आन्दोलनका बेला जेलबाट निस्किएको प्रसंग निकालेर अप्ठेरो प्रश्न गरेपति रविले संयमित र तर्कपूण जवाफ दिएका छन् ।
सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका रवि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा निस्किएका थिए । आलोचकहरूले रवि जेलबाट भागेको आरोप लगाउने गरेका छन् भने रास्वपाले उनलाई जेल प्रशासनले नै पत्र थमाएर बाहिर निकालेको दावी गर्दै आएको छ ।
आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोका क्रममा एक प्रौढ नागरिकले रविलाई सोधे, ‘जेन(जी आन्दोलनका क्रममा धेरै कैदीबन्दीहरू जेलबाट निस्किए । तपाईं पनि निस्किनुभयो । तपाईँले नै कैदी निकाल्ने कार्यको नेतृत्व गर्नुभएको चर्चा छ, त्यो कति सत्य हो ?’
उक्त प्रश्नमा रविले दिएको जवाफ यस्तो थियोः
२४ गतेको घटनालाई लिएर सबैभन्दा पहिले छानबिन आयोगमा जवाफ दिन गएको म हो । म जेलभित्र बसेको मान्छेलाई आयोगले बोलाएपछि गएर सबै बताए । मेरो बयानपछि जाँचबुझ आयोगका अध्यक्षले यसमा रवि लामिछानेको गल्ती रहेनछ भनेर अन्तर्वार्तामा बोल्नुभएको मैले जेलभित्रै हेरेँ । मेरो के पहुँच थियो र ? जेलभित्र ५–६ वटा फलामे ढोकाभित्र बसेको थिएँ । तर, पनि दोष मेरो टाउकोमा हालेकाले बयान दिएँ । छानबिनको रिपोर्ट आउला । अध्यक्षले रवि लामिछाने दोषी होइन रहेछन् भनिसक्नुभयो । जेलरले पनि उहाँले त जेल जोगाएको हो भनेर बोल्नुभएको रहेछ । मभन्दा एक किलोमिटर पर बसेका नेतालाई हेलिकप्टरबाट भगाइयो । उनीहरू असुरक्षित भएर भागे, म सुरक्षित स्थानबाट लखेटिएँ । जेलभित्र बसेको मान्छेलाई जबरजस्ती ‘जा’ भनेर पत्र थमाएपछि के गर्ने ? मलाई बाहिर आगो लगाइरहेको भीडमा पठाइयो । जेलभित्र बसेको मान्छेको कैदी भगाउने क्षमता हुन्छ कि हुँदैन होला ? विना आग्रह(पूर्वाग्रह मैले हजुरकै विवेकमा छोडिदिएँ ।’