सरकारी शिक्षक आचारसंहिता विपरीत दल र उम्मेदवारको चुनावी प्रचारमा
काठमाडौँ -चुनावी माहौल तात्दै जाँदा सरकारी शिक्षकहरू दलीय प्रचारमा सक्रिय देखिएका छन् । निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३ को १० नम्बर बुँदाको खण्ड ‘क’ मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
तर, आचारसंहिता विपरीत दलको प्रचारमा सक्रिय भएर लाग्नेहरू रुपन्देहीकै नमूना स्कुलमा गनिने प्रधानाध्यापक र शिक्षक छन् ।
शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, कान्ति माध्यमिक विद्यालयका शिक्षक दिलिप बेलबासे र कालिका माविका शिक्षक श्याम श्रेष्ठ राजनीतिक दल र उम्मेदवारको प्रचारमा लागेकोमा सार्वजनिक रूपमै आलोचना भइरहेको छ ।
प्रधानाध्यापक लामिछाने रुपन्देही-२ का कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेलको प्रचार अभियानमा छन् । शिक्षकद्वय बेलबासे र श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार अभियानमा सक्रिय देखिएका देखिएका छन् ।
लामिछाने घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय छन् । शिक्षकद्वय बेलबासे र श्रेष्ठले सामाजिक सञ्जाल तथा रास्वपाका कार्यक्रममार्फत प्रचार प्रसार गरिरहेका छन् ।
निर्वाचन आचारसंहिताले सरकारी सेवामा कार्यरत कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।