मीना खरेलको रवि लामिछानेलाई जितेर देखाउने घोषणा
काठमाडौं—मीना खरेलले रवि लामिछानेलाई जितेर देखाउने घोषणा गरेकी छन् ।
चितवन २ मा दुई पटकसम्म भारी मतान्तरले विजयी भएका रविलाई नेपाली कांग्रेसकी उम्मेदवार खरेलले यो पटक आफूले जित्ने घोषणा गरेकी हुन् ।
रविले अघिल्ला निर्वाचनमा ‘पुरानो पार्टी नछोड्नुस्, भोट मलाई दिनुस्’ भनेर आह्वान गरेपछि कांग्रेसका मतदाताले समेत भोट हालेर जिताएका थिए ।
चितवन क्षेत्र नम्बर २ मा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले ‘पुरानो पार्टी नछोड्नुस्, भोट मलाई दिनुस्’ भनेर आह्वान गरेको थियो ।
त्यसअघि पुराना दलहरूले राम्रो उम्मेदवार पनि नउठाएको दाबी मतदाताले गरेका थिए । तर, अहिले आफू नयाँ र स्थानीय स्तरमा भिजेको उम्मेदवार भन्दै खरेल चितवन २ का मतदाताले आफूलाई जिताउनेमा ढुक्क देखिएकी छन् ।
उनले भनिन्, ‘मतान्तर मात्रै घटाउने होइन, यो पटक नेपाली कांग्रेससँग रिसाएका मतदाता, शुभेच्छुक पनि हामी स्थानीय उम्मेदवारलाई जिताउँछौँ भन्नेमा पुगिसक्नुभएको छ । त्यसैले मैले जित्ने निश्चित छ ।’
समाजशास्त्रमा स्नातकोत्तर मीना खरेल चितवनमा नै जन्मिएर ४० वर्षयता निरन्तर चितवनमा क्रियाशील छिन् । यौन हिंसा नियन्त्रण सञ्जाल नै बनाएर हिंसा प्रभावित महिला र बालबालिकाको न्यायको अगुवाइ पनि गरिरहेकी छन् ।
आफू चितवन २ को २८ वटै वडाका क्षेत्रका समस्यासँग जानकार रहेको उनी बताउँछिन् ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा अहिलेको मूल आवश्यकता भएको भन्दै उनले भनिन्, ‘दुई पटकसम्म निर्वाचन जितेका सांसदबाट अलिकति पनि विकास बजेट नपरेकोमा स्थानीय दुःखी छन् ।
म संसदमा कानून बनाउने मात्रै होइन स्थानीय विकास आवश्यकता पूरा गर्न समन्वयकारी भूमिका पनि खेल्न सक्छु ।’
उनले नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्रै नभएर यसअघि निष्क्रिय रहेका सदस्य पनि आफ्नो उम्मेदवारीपछि पुनःजागृत भएको दाबी गरिन् । आफ्नै चुनाव चिन्हमा मत हाल्न सक्ने वातावरण भएका कारण पनि मतान्तर कम गराएर जित्न सहयोग गर्ने मीनाको तर्क छ ।
चितवन २ मा जितेका उम्मेदवार रवि लामिछानेले यसअघि नागरिकसँग भएका अपेक्षा र उत्साहलाई सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ । अधिकांश नेता-कार्यकर्ता आ-आफ्नो पार्टीमा फर्किएको कारण पनि आफू जित्ने दाबी उनको छ ।
आफू निर्वाचन क्षेत्रका हरेक विषयमा जानकार र इमानदार व्यक्ति पनि भएकाले जान्ने र छान्नुपर्ने व्यक्ति आफू नै रहेको उनको जिकिर छ ।