म्यादी प्रहरी आन्दोलनमा उत्रिए
काठमाडौं—म्यादी प्रहरी आन्दोलनमा उत्रिएका छन् ।
निर्वाचन गराउने प्रयोजनका लागि गठन भएको निर्वाचन प्रहरीले सेवा सुविधामा असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय हुम्ला घेराउ गरेका हुन् ।
उनीहरुलाई ३४ हजार ७७६ रुपैयाँ तलव र ११ हजार ५७० रुपैयाँ भत्ता दिने निर्णय भएको थियो ।
हुम्ला प्रशासनले तोकिएको भन्दा कम तलब दिन लागिएको सूचनापछि उनीहरु आन्दोलित भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए ।
‘म निर्वाचन आचार संहिताको विषयमा छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्वाचन प्रहरीहरूको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको छ ।’
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।