एमाले नेताविरुद्धको जाहेरी लिन प्रहरीद्वारा अस्वीकार
काठमाडौं – नेकपा एमाले नेताविरुद्ध जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ । कालिकोट शुभकालिका गाउँपालिका ६ कि जमुना खत्रीले मुुगुका एमाले नेता कर्ण बहादुर मल्लविरुद्धको जाहेरी लिन जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले अस्वीकार गरेको हो ।
आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडित खत्रिको भनाई छ । बिहिबार राजधानीको संवाद डबलीमा पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै आफ्नो पीडा व्यक्त गरेकी छन् ।
मल्लले जबरजस्ति यौन शोषण गरेको बताउँदै बच्चासम्म फाल्न लगाएको खत्रीको आरोप छ । सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरेकी छन् ।
आफूले जमुना जस्तै लामो समयदेखि त्यस्तै पीडा भोगेको र न्यायका लागि अड्डा अदालत धाउँदा पनि सत्ता र शक्तिको बलमा न्याय पाउन नसकेको जनाउँदै उनले भनिन्, ‘अहिले सरकार प्रमुख महिला हुनुहुन्छ, परिवर्तनपछि आइजिपी दानबहादुर कार्की दाई हुनुहुन्छ, कम्तिमा तपाईहरुले हाम्रो आवाज सुनिदिनु पर्छ । केपी ओलीको एमाले पार्टीका नेताहरुबाट हामी महिला कहिलेसम्म शोषणमा पर्ने हो ।’
त्यसैगरी अर्की पीडित बझाङकी रस्मिला धामीले जमुना खत्रीको जाहेरी प्रहरीले लिएर अनुसन्धान गर्न माग गरिन् । धामीले आफू पनि एमालेका अर्का नेताबाट पीडित भएको र उनलाई अदालतबाट पक्रेर अनुसन्धान गर्न आदेश हुँदा पनि बझाङबाटै उम्मेदवार बनाइनुले एमालेमाथि प्रश्न उठेको बताईन् ।