रौतहटमा यात्रुवाहक बस दुर्घटना अपडेट : ९ जना घाइते

शुक्रबार, ८ फाल्गुन २०८२

काठमाठौं—सदरमुकाम गौरमा यात्रुवाहक बस दुर्घटना भएको छ। शुक्रबार बिहान करिब ११ः३० बजे गौर–चपुर सडक खण्डमा दाल मिल नजिक बस अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको समयमा बसमा करिब ४० जना यात्रु सवार थिए। जसमा ९ जना घाइते भएका छन् ।

घाइतेहरूमा रौतहट गढीमाई नगरपालिका–१ का ३२ वर्षीय रञ्जय यादव, यमुनामाई गाउँपालिका–३ का ४२ वर्षीय विनोद बैठा, गरुडा नगरपालिका–४ का २६ वर्षीय निरज कुमार गुप्ता, बारा कलैया उपमहानगरपालिका–१ का ३० वर्षीय नुर महम्मद, हेटौंडा उपमहानगरपालिका–४ की ४२ वर्षीया सुनिता केशरी, भारत सितामढी जिल्लाका ६० वर्षीय लसिभ सहनी, मकवानपुर भारत गमडिया जिल्लाका ४४ वर्षीय देव नारायण बैठा, २० वर्षीय सुभम कुमार बैठा र भारत शिवहर जिल्लाका ५५ वर्षीय ललन साह रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ भने केही घाइतेलाई थप उपचारका लागि आँखा अस्पताल पुरेनवा र वीरगंजतर्फ रेफर गरिएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बस चालक चन्द्रपुर नगरपालिका–८ निवासी २४ वर्षीय रिजवान खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ र जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भइरहेको छ। घटनाको कारणले सडक अवरुद्ध भने नभएको प्रहरीले जानकारी दिएको छ। अन्य यात्रुहरू भने आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।