साम्प्रदासयक हिंसा भड्काएको आरोपमा सिके राउतको जनमत पार्टीका नेतासहित १८ जना पक्राउ

शनिबार, ९ फाल्गुन २०८२

साम्प्रदासयक हिंसा भड्काएको आरोपमा सिके राउतको जनमत पार्टीका नेतासहित १८ जना पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका–६ सबगढामा हिन्दु मुस्लिमलाई भड्काएर बीचको द्वन्द सृजना गरेको आरोपमा जनमतका रौतहत जिल्ला संयोजक शेख जमशेदसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीएसपीको कमाण्डमा जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यालयमा पुर्‍याएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा डीएसपीको कमाण्डमा सोधपुछका लागि ल्याइएको पुष्टि गरेका छन्।

को हुन जमशेद ?

स्रोतका अनुसार शुक्रवार दुवै समुदायबीच सहमति भई स्थिति साम्य भएको भए पनि शनिबार बिहानैदेखि ‘पछाडिबाट चलाइएको योजनाबद्ध उक्साहट’का कारण अवस्था फेरि तनावग्रस्त बनेको थियो।

प्रारम्भिक अनुसन्धानले गौर नगरपालिका–६ का पूर्व वडाध्यक्ष तथा हाल जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेदको संलग्नता संकेत गरेको छ।

शेख जमशेद यसअघि गौर नगरपालिका–६ का वडाध्यक्ष रहँदै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट निर्वाचन क्षेत्र–२ (क) मा उम्मेदवारी दिँदै ५ हजार ४७४ मत प्राप्त गरेका थिए। त्यसपछि उनी डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरी जिल्ला संयोजक बनेका हुन्।

सुरक्षा निकायले सामाजिक सञ्जाल गतिविधि, स्थानीय भेटघाट र घटनापूर्व–पश्चात सम्पर्कहरूको विस्तृत विश्लेषण गर्दै ‘उक्साउने’ व्यक्तिहरूमाथि निगरानी बढाएको छ। हालसम्म प्रमाण संकलन जारी रहे पनि कसैविरुद्ध आधिकारिक मुद्दा दर्ता भएको छैन।