चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूबीचको तनाव बढ्यो

शनिबार, ९ फाल्गुन २०८२

काठमाडौं—चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूबीचको तनाव बढ्न थालेको छ । चुनावी कार्यक्रमका क्रममा रौतहटको गौरमा धार्मिक झडप हुँदा स्थानीय प्रशासनले कर्प्यु लगाएको छ ।

सुनसरीमा नेपाली कांग्रेस र रास्वपा कार्यकर्ता, दाङमा एमाले र रास्वपा तथा रास्वपा र राप्रपा कार्यकर्ताबीच श्रृखलाबद्ध झडप भएका छन् । चितवन, पाल्पा, रुपन्देही लगायतका क्षेत्रमा शंकास्पद बस्तु भेटिदा जनजीवन आतंकित बनेको छ ।

सुनसरीमा पनि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूबीच झडप भएको छ । कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा रास्वपा कार्यकर्तासँग जम्काभेट भएपछि झडप भएको हो ।

तत्कालै प्रहरीले स्थिति नियन्त्रणमा लिएकोले तनाव चर्किन नपाएको सुनसरीका एसपी केशव थेवेले बताए ।

उता दाङमा बिहीबार राति रास्वपा कार्यकर्ताले एमालेको चुनाव चिह्नअंकित झण्डा जलाएपछि एमालेका कार्यकर्ता आक्रोशित भएका छन् । झण्डा जलाएको रिसमा एमाले कार्यकर्ताले पनि रास्वपा कार्यालयमा शुक्रबार तोडफोड गरेका थिए ।

दाङमै राजा वीरेन्द्रको सालिकमा रास्वपा कार्यकर्ताहरूले अपमापनजनक व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले निन्दा गरेको थियो । चितवनमा शंकास्पद बस्तु सडकमा राखेर जनजीवन आतंकित पार्न खोजिएको छ । यद्यपि उक्त शंकास्पद झोलामा फोहोरको थुप्रो भेटिएको छ ।

सरकारले सबै दललाई संयमता अपनाउन र चुनावी आचारसंहिता पालना गर्न आग्रह गरेको छ । चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको हो । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बिथोल्ने प्रयास निस्तेज पार्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्रीले हिजो गण्डकी र आज लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरूसँग छलफल गरेर स्वच्छ र स्वस्थ वातावरणमा निर्वाचन सम्पन्न गराउने वातावरणका लागि तदारुकताका साथ काम गर्न निर्देशन दिएकी छन् । सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी बढाइएको बताएका छन् । चुनाव आउन अब १२ दिन मात्रै बाँकी छ ।