एमालेको झण्डा जलाउने म्यादी प्रहरी पक्राउ
काठमाडौं—एमालेको झण्डा जलाउने म्यादी प्रहरी पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा एमालेको झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाउने निर्वाचन प्रहरी हरिनारायण मण्डल पक्राउ परेका हुन् ।
एमालेविरुद्ध नाराबाजी गर्दै सूर्यअंकित झन्डा जलाइरहेको दृश्य सार्वजनिक भएको थियो । उनले ‘जय मधेस, जय घण्टी’ भन्दै रास्वपाको पक्षमा नारासमेत लगाएका थिए ।
घटनामा संलग्न अरू व्यक्तिहरूको खोजीकार्य तीव्र पारिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राजनीतिक दलको झन्डा तथा उमेदवारको तस्बिर जलाउने कार्यले चुनावी आचारसंहिताविपरीत वातावरण सिर्जना गर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।