३४ वर्ष जनतालाई झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनु : रवि लामिछाने

शनिबार, ९ फाल्गुन २०८२

काठमाडौं—रवि लामिछानेले ३४ वर्ष जनतालाई झुक्याउने पुराना पार्टीलाई यो पटकको चुनावमा झुक्यादिन अनुरोध गरेका छन् । चितवन क्षेत्र नम्बर २ को चुनावीसभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले ३४ बर्षसम्म झुटको दोकान चलाएका पार्टीलाई पुन भोट हाल्न नहुने बताए । उनले राजनीतिक दलहरुले पैसा बाँडेको थाहा पाए खाँइदिन अनुरोध गर्दै भोटभने रास्वपालाई दिन अपिल गरेका छन् ।

अंग्रेजीमा टिट फर ट्याट भन्छ। ३४ वर्षसम्म झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनु,’ उनले भने, ‘घरमा आउँछन्, यसपटक पनि हामीलाई है भोट भनेर केके भन्छन्। झुटको दोकान खोल्नेलाई मैले के सिकाउन पर्छ र। त्यतिखेर तपाईंले भन्ने के भने तपाईंलाई नै हो भोट भन्दिनुस्। तपाईं नै हो भन्दिनुस्। गर्ने बेला के हो मैले किन भन्नु।’

उनले कुनै राजनीतिक दलले मासुभात खान पैसा दिए, बाँड्न लागेको पैसा, दिएमा लिन पनि मतदातालाई भने।

‘ए बाबा मासुभातको पैसा, बाँड्न गएको पैसा, उसको भए त सम्पत्ति घट्न पर्थ्यो नि। बढेको छ, हाम्रै पैसा हो, खाइदिने नि। हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा खाइदिनुस्, हाम्रो स्कुलमा शिक्षा नदिएर लुटेको पैसा खाइदिनुस्। राम्रो बाटो, पुल, नहर नबनाएको पैसा हो खाइदिनुस्। तर भोट चाहिँ घण्टीमा हालिदिनुस्,’ उनले भने।