मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु पुर्याइयो

आइतबार, १० फाल्गुन २०८२

काठमाडौं— आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु पुगेको छ ।

निर्वाचन आयोगले सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ४० हजार समानुपातिक र ३९ हजार प्रत्यक्ष तर्फका मतपत्र सहितका निर्वाचनका लागि चाहिने सुइ, धागो, स्वस्तिक, छाप, स्टामप्याटलगायत आवश्यक ११ प्रकारका सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो ।

एक निर्वाचन क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतादाता संंख्या रहेको छ । जिल्लाभर ६७ मतदान स्थल र ६९ मतदान केन्द्र रहेका छन् । आइतबार मतपत्रसहितका आबश्यक सबै सामग्री जिल्लामा पुगेपछी १४ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम संचालन गरी १५ गतेबाट मतदान केन्द्रमा लैजाने सामाग्री प्याकेजिङ गरी भुगोलका आधारमा १७ गतेबाट मतदान अधिकृत सहितको टोली आ—आफ्ना स्थलतर्फ प्रस्थान गर्ने जिल्ला निर्वाचन कार्यलयका प्रमुख कमल प्रसाद उपाध्ययले बताए ।

निर्वाचन सफल बनाउनको लागि मतदान अधिकृत ७० जना, सहायक मतदान अधिकृत ७० जना, सहायक कर्मचारी २ सय १० जना , स्वयम सेवक १ सय ७९ जना र सहयोगी ७० जना गरी ५ सय ९९ जना कर्मचारी परिचालन हुनेछन् । सुरक्षाको लागि निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी १५ सय भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने भएको छ ।