होली पर्व र निर्वाचन मौन अवधिबारे स्थानीय प्रशासनको ६ बुँदे उर्दी, उल्लंघन गरेर कारबाही गर्ने
काठमाडौं—यो बर्षको होली खल्लो हुने भएको छ । पहाडमा फागुन १८ गते र तराईमा १९ गते परेको होली निर्वाचनको मौनअवधिका कारण खल्लो हुने भएको हो । निर्वाचनको मौन अवधि र होली पर्वलाई लिएर विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले निर्देशन जारी गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न चेतावनी दिएका छन् । सो अवधिमा इच्छाविपरीत व्यक्तिलाई लोला हान्ने, रङ दल्ने कार्य गरेमा कारबाही हुनेछ ।
निर्वाचनको मौनअवधि सुरु फागुन १८ गते रातिबाट हुनेछ । यसर्थ निर्वाचनको मौन अवधि र होली पर्वलाई लिएर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ६ बुँदे निर्देशन जारी गर्दै पालना नगरेमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
प्रशासनले सूचना जारी गर्दै होली मनाउने नाममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा र इच्छाविपरीत व्यक्तिलाई लोला हान्ने, रङ थल्ने कार्य गरेमा कारबाही गर्ने चेतावनी दिइएको हो ।
‘चर्को आवाजमा बाजा (डिजे) नबजाउने र छरछिमेकलाई असर पर्ने कुनै पनि कार्य नगर्ने नगराउने । निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा बाटोमा हिँडिरहेका व्यक्तिहरुलाई रङ दल्ने, लोला हान्ने, फोहोर छ्याप्ने वा दुःख, हैरानी तथा कष्ट दिने कुनै पनि कानूनविपरीतका कार्य नगर्ने नगराउने,’ प्रशासनको सूचनामा भनिएको छ, ‘कोही कसैले प्रचलित कानून विपरीतका कार्य गरे—गराएमा प्रचलित कानून बमोजिम कडाइका साथ कारवाही गरिने व्यहोरा समेत सबैको जानकारीका लागि सूचित गरिन्छ ।’
प्रशासनको ६ बुँदे अनुरोधःनिर्देशनको पूर्णपाठ
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसार तथा मौन अवधि भित्र होली—फागु पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता परिपालनालाई ध्यानमा राखी जिल्ला स्थित राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सम्पूर्ण जिल्लावासी बीच आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम रहने अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
होलीरफागु पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउनुका साथै निर्वाचनको सुरक्षा र आचारसंहिता पालना गर्न देहाय बमोजिम गर्नरगराउन जिल्ला सुरक्षा समिति, कञ्चनपुर सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक संघसंस्था, नागरिक तथा सरोकारवाला निकायहरू सबैलाई हार्दिक आह्वान गर्दछः
१) निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण परिपालना गर्ने तथा आचारसंहिता उल्लङ्घन भएको तथ्यपरक जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय,निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत एवं नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउने,
२) भिडभाड हुने कुनै पनि कार्यक्रम आयोजना गर्नु पूर्व जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिने,
३) पर्व मनाउने नाममा कसैको इच्छाविपरीत जवर्जस्ती, अमर्यादित तथा उच्छृंखल व्यवहार नगर्ने—नगराउने,
४) मादक तथा नशालु पदार्थ सेवन नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, सार्वजनिक स्थानमा होहल्ला नगर्ने तथा चर्को आवाजमा बाजा (डिजे) नबजाउने र छरछिमेकलाई असर पर्ने कुनै पनि कार्य नगर्ने—नगराउने,
५) सकेसम्म आ–आफ्ना समुदायभित्र आपसी सहमतिमा मात्र पर्व मनाउने र कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्नेजस्ता असभ्य व्यवहार नगर्ने—नगराउने,
६) निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी तथा बाटोमा हिँडिरहेका व्यक्तिहरूलाई रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने वा दुःख, हैरानी तथा कष्ट दिने कुनै पनि कानून विपरीतका कार्य नगर्ने—नगराउने ।