धादिङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौं – धादिङ बस दुर्घटनामा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको छ । ट्रमा सेन्टरमा उपचारको क्रममा स्याङ्जाका एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको थियो । अचेत अवस्थाकालाई मलेखु र जिल्ला अस्पताल पठाइएको थियो ।
रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।