प्रहरीले डिजे नियन्त्रणमा लिएपछि रास्वपा उम्मेदवारले इप्रकामा गरे हुलहुज्जत
काठमाडौं -प्रहरीले रास्वपाको प्रचार सामाग्री जफत गरेको छ । आचारसंहिता विपरीत डिजे बजाएको भन्दै ईलाका प्रहरी कार्यालय, मिर्चैयाले पिकअप भ्यनसहित डिजे नियन्त्रणमा लिएको हो ।
प्रचार सामाग्री नियन्त्रणपछि सिरहा–४ का रास्वपा उम्मेदवार तपेश्वर यादवसहितको समूहले प्रहरी कार्यालयमा हुलहुज्जत गरेको छ । प्रहरीले ब्यानर, पर्चा हटाइदिएको र डिजे नियन्त्रणमा लिएको उम्मेदवार यादवले बताएका छन् ।
प्रहरीका अनुसार निर्वाचन आचारसंहिता, २०८२ विपरीत आइतबार बेलुकी मिर्चैया बजार क्षेत्रमा चर्को आवाजमा गीत तथा जिंगल बजाउँदै प्रचारप्रसार गरिरहेको पाइएपछि डिजे र पिकअप भ्यानसहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै प्रतिनिधिसभा उम्मेदवार यादव हूलसहित प्रहरी कार्यालय पुगेका थिए ।
उनीहरू प्रहरीलाई तथानाम भन्दै कार्यालयभित्रै छिर्न खोजे पछि प्रहरीले गेटमै रोकेको थियो । त्यस क्रममा उम्मेदवार यादवले प्रहरी कर्मचारीहरूलाई हुलहुज्जत गर्दै व्यक्तिगत तहमा उत्रिएर ‘देखाइदिने’लगायतका धम्की दिएका हुन् । प्रहरी कार्यालय अगाडीको हुलहुज्जतको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ ।
‘हामीले कानूनको पालना गराउने काम गरेका हौँ, तर विधि र सुशासनको नारा लगाएर चुनाव लड्नुभएका उहाँहरूको यो व्यवहार राम्रो भएन,’ एक प्रहरीले भने, ‘हामीले उहाँहरूको डिजे मात्रै नियन्त्रणमा लिएको होइन, यसअघि अरूको पनि नियन्त्रणमा लिने र सम्झाएर छाड्ने गरेका थियौँ, तर उहाँहरूको रवाफ र धम्की हेर्दा निकै दुःख लाग्यो ।’
यसरी आचारसंहिता उल्लंघन गर्ने विभिन्न पार्टीका ८ वटा डिजे र पिकअपलाई यसअघि नै कारबाही गरिएको प्रहरीले जनाएको छ ।