फुटबलर सावित्रा भण्डारी (साम्बा)को खर्च अभावले उपचार रोकियो

सोमबार, ११ फाल्गुन २०८२

काठमाडौं—फुटबलर सावित्रा भण्डारी (साम्बा)को खर्च अभावले उपचार रोकिएको छ । घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उनले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन् ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रहेकी साम्बाको थप उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने अनुमान छ। उनको यसअघि पनि घुँडाकै अप्रेसन गरिएको थियो ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहनुपरेको जानकारी दिँदै यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको उल्लेख गरेकी छन्। यसका लागि पुनः जटिल शल्यक्रिया आवश्यक रहेको उनले बताएकी छन्।

यसअघि एन्फा नेतृत्वको पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त भएकाले आफू समयमै पुनरागमन गर्न सफल भएको उनले स्मरण गरेकी छन्। तर यसपटक भने एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ। चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको उनले बताएकी छन्।

अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्ने प्रस्ताव गरेको उनले खुलाएकी छन्। यसबीचमा अघिल्लो प्रक्रिया रोकिँदा झण्डै दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

हाल उनी न्युजिल्यान्डस्थित क्लबमा आबद्ध छिन्। क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि उनले आफ्नो चोट गम्भीर रहेकाले उच्चस्तरीय उपचारका लागि कतारको अस्पेटार अस्पतालमै उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापन (रिह्याबिलिटेसन)का लागि उक्त रकम अपुग हुने जनाइएको छ।

उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ। सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले आफूले आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको उनले बताएकी छन्।