अमेरिकामा एकै परिवारका तीन नेपालीको हत्या
काठमाडौं—अमेरिकामा एकै परिवारका तीन नेपालीको हत्या भएको हो । अमेरिकाको भर्जिनिया बस्दै आएका उदयपुरका छत्रबहादुर थापासहित उनकी श्रीमती र छोरीको हत्या भएको हो ।
छत्रबहादुरले घरायसी विवादका कारण श्रीमती र छोरीको हत्या गरेका थिए । तत्काल पुगेको प्रहरीले आत्मासमर्पण गर्न अटेरी गरेपछि थापालाई गोली हानेर मारेको थियो । घरभित्रै रहेका एक वर्षको शिशु भने सकुशल भेटिएएका छन् ।
फेयरफेक्स प्रहरीका अनुसार बिहान सवा ५ बजे घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी प्रमुख केभिन डेभिसलाई उद्धृत गर्दै प्रेषित समाचारहरुमा घटनास्थलको दृश्यलाई “कल्पनाभन्दा बाहिरको र अत्यन्तै भयावह” भनिएको छ ।
बाहिर परेको बाक्लो हिउँ सफा गरिरहेका ज्वाइँले घरभित्र कोलाहल सुनेपछि प्रहरीको फोन नम्बर ९११ मा कल गरेका थिए । त्यसपछि घरभित्र प्रवेश गर्दा श्रीमती र सासू रगताम्य अवस्थामा भेटिएको ३५ वर्षे ज्वाईं सन्तोषकुमार बस्नेतको भनाइ छ। त्यसपछि आक्रमणकारी ससुराले ज्वाइँमाथि पनि आक्रमण गरेका कारण उनी गम्भीर घाइते छन् ।
तत्काल घटनास्थल पुगेको प्रहरीले हतियार भुईँमा राख्न चेतावनी दिँदा पनि थापाले नमानेपछि गोली प्रहार गरिएको र आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घरभित्रै रहेको एक वर्षको शिशु भने सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ।
सन् २०२५ जुनमा मानसा पार्क एक नेपाली परिवारका चार सदस्य मृत भेटिएका थिए । वेलफेयर चेकका क्रममा एक दम्पती र दुई साना बालबालिकालाई गोली लागेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानले उक्त घटना हत्या–आत्महत्या हुनसक्ने संकेत गरे पनि अन्तिम सुुनुवाई भइसकेको छैन ।
यसअघि २०२४ अगस्टमा बेपत्ता भएकी एक नेपाली मूलकी नर्सको घटना रहस्यमय छ । उनका श्रीमान् पक्राउ परेका छन् र उनीविरुद्ध हत्या, शव लुकाउने तथा प्रमाण नष्ट गर्ने आरोपमा मुद्दा दर्ता भएको छ । तर नर्सको शव भने अहिलेसम्म फेला परेको छैन।