दुर्गा प्रसाईंले गरे पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा आउने दावि
काठमाडौं—दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा आउने दावि गरेका छन् । सर्वोच्च अदालतको आदेशमा रिहा भए लगत्तै प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र फागुन २१ गतेको निर्वाचनविरुद्ध सडकमा आउने सूचना पाएको दावि गरेका हुन् ।
उनले पूर्वराजा बाटोमा निस्किने कुरा सुनेको बताउँर्दै राजा बाटोमा निस्किँदाखेरि नेपालको सेना, प्रहरीले र जनताले दरवारभित्र लगेर गद्दीमा राखेर सलाम गर्ने दावि गरेका छन् ।
निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । चुनावसम्म थुनाभित्रै राख्ने सरकारको रणनीति भए पनि अदालतले भने फेरि एकपटक प्रसाईंको पक्षमा आदेश गरेको छ ।
आदेश हिजो आए पनि प्रक्रिया पूरा गरेर प्रसाईं आज निस्किएका हुन् । बाहिरिनासाथ उनले युट्यूवर भेला गराएर आफ्नै शैलीमा भाषण दिँदै देश युक्रेनको बाटोमा गएको बताए । आफू अहिले रुन मात्रै नसकेको उनको भनाइ थियो ।
प्रसाईंले भने, ‘यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो । यो कुरा भन्नुपर्दाखेरि मेरो हृदय फुटेको छ । म रुन मात्रै सकेको छैन । मेरो आँखाबाट आँसु हत्तपत्ति झर्दैन र मात्रै । युक्रेनको बाटोमा लानलाई नेपाली सेना किन उद्यत हुँदैछ ? किन चुनाव हुनुभन्दा एक महिना अगाडिदेखि निस्किँदैछ सडकमा ?’
आफूले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको तर अहिले राजाले नै चुनाव हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको उनले बताए ।
‘मलाई थुन्ने ठाउँमा मैले श्रीमानलाई पनि भनेँ, राजाले पनि चुनाव गर्नु हुँदैन भनेर भन्नुभयो, राजसी शैलीमा । चुनाव गर्नु हुँदैन भन्दा मलाई ल्याएर थुन्नुभयो । राजालाई पनि ल्याएर थुन्नुस् । दम छ ओम प्रकाश अर्याल ? दम छ सुशीला कार्की ? अनि दम छ त्यो, त्यो काठमाडौँको सिडिओको ? के लोकतन्त्रमा बोल्न पाइँदैन ?’
उनले राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउन चुनौति दिए ।
‘राजाका अगाडि बाबाको दुहाइ भन्छन् । अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले राजा पनि अब बाटोमा निस्किने कुरा सुनेको छु । राजा बाटोमा निस्किँदाखेरि नि, विदेशी सेना आयो भन्न सक्दिनँ, होइन भने नेपाली सेना, नेपाली पुलिस र जनताले दरवारभित्र लगेर गद्दीमा राखेर सलाम गर्छन्,’ उनले भने ।