रास्वपा चर्चित नेताले पार्टी छोडे

बिहिबार, १४ फाल्गुन २०८२

काठमाडौं—अघिल्लो निर्वाचनमा झण्डै चुनाव जितेका रास्वपा चर्चित नेताले पार्टी छोडेका छन् । ०७९ को निर्वाचनमा कास्की १ बाट १० हजार ९४१ मतसहित तेश्रो बनेका राजु राईले पार्टी परित्याग गरेका हुन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले सामाजिक सञ्जालबाट पार्टी छाडेको घोषणा गरेका छन् । उनले पार्टी नेतृत्व आर्थिक प्रभावमा परेर टिकट किनबेचमा लागेको आरोप लगाएका छन् ।

राईले फेसबुकमा लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ ? आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ ? स्वतन्त्र नागरिक भएर समाज सेवा मा लाग्नेछु ।’

उनले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको भन्दै दुई दिनअघि पनि फेसबुक स्टाटस लेखेका थिए ।

गएको निर्वाचनमा १० हजार मत ल्याएका राईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ । पौडेललाई टिकट दिएदेखि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए ।

टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै पछिल्लो समय दर्जनबढी नेताहरूले रास्वपा छाडिसकेका छन् ।