बम विस्फोट गरेको आरोपमा निर्वाचन प्रहरी पक्राउ
काठमाडौं—बम विस्फोट गरेको आरोपमा निर्वाचन प्रहरी पक्राउ परेका छन् । सप्तरीकोे महादेव गाउँपालिका स्थित पकरी चौकीमा खटिएका निर्वाचन प्रहरी हरेराम यादव हातहतियार, खरखजाना र विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका हुन् । पूर्वसशस्त्र प्रहरी जवानसमेत रहेका यादव मधेश आन्दोलनका क्रममा एसएमजीसहित भागेर जयकृष्ण गोइत नेतृत्वको मोर्चामा लागेर लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएका थिए ।
प्रहरीले उनीमाथि हातहतियार खरखजाना ऐन, २०१९ र विष्फोस्टक पदार्थ ऐन, २०१८ अन्तर्गतको कसुरमा मुद्दा चलाएको थियो ।
उक्त कसुरमा दोषी ठहर गर्दै अदालतले ११ वर्ष कैद सजाय सुनाएपछि उनी फरार भएका थिए । तर निर्वाचन प्रहरीमा भर्ना भएपछि बल्ल समातिएका हुन् । यादवलाई हिजो चौकीमा खटिएकै अवस्थामा नियन्त्रणमा लिइएको बुझिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवम् नायव उपरीक्षक (डिएसपी) डम्बरबहादुर पुरीले बताए ।